काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उक्त आदेश लगत्तै रवि लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका छन् । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई छुट दिनका लागि उक्त आदेश जारी गरेको थियो ।

त्यसैगरी, रविलाई कास्की जिल्ला अदालतले पोखरामा सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यसपछि उनी धरौटी बुझाएर छुटेका थिए ।

रवि लामिछानेको प्रकरणमा इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनले पनि साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

तर, कास्कीमा धरौटी बुझाएपछि रवि लामिछाने आफैं अदालतमा हाजिर भएका थिए । र, त्यही नीति काठमाडौंमा पनि अपनाइएको प्रहरी अधिकृतले जनाएका छन् ।