काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सदस्यले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको घटनामा कडा कदम चाल्ने चेतावनी दिएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपा कार्यकर्ताले त्रिपाठीमाथि हातपात गरेका थिए । उक्त घटनामा रास्वपाका कार्यकर्ताको संलग्नता पाइएको छ ।

सो घटनामा रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी मुद्धामा थुनछेक बहस भइरहेको थियो । त्रिपाठी माथि भएको हातपातको घटनाले पार्टीको अनुशासन विभागको ध्यान आकर्षण गरेको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले घटनाबारे प्रतिक्रिया व्यक्त गर्दै भने, “यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन ।”

उनले घटनामा रास्वपाका सदस्य संलग्न भए कारबाही गरिने पनि बताएका छन् । रास्वपाले यो घटनालाई गम्भीरतासाथ लिँदै पार्टीका अनुशासनका नियमहरु उल्लंघन गर्ने सदस्यमाथि कडा कदम चाल्ने निर्णय गरेको छ ।