जनकपुरधाम, २ माघ । ठगी प्रकरणमा पक्राउ परेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।

ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउन जिल्ला अदालत धनुषाको ३ नम्बर इजलासका न्यायाधिश दिलीप कुमार बर्देवाले आदेश दिएका हुन् ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ठाकुरलाई गत पुष २९ गते ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि ठाकुरलाई ललितपुर परिसरको सहयोगमा पक्राउ गरिएको थियो । उनलाई जनकपुर झिकाएर अनुसन्धान अघि बढाइएको छ ।

यस प्रकरणमा ठाकुरसहित अन्य तीन जना कर्मचारीहरू पनि मुछिएका छन् । परिषद्का लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँको ठगीमा संलग्न रहेको आरोप छन् ।

उनीहरूसँगै यस घटनामा मुछिएका अन्य कर्मचारीहरू विरुद्ध गत मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको थियो । अदालतले समेत उनीहरूविरुद्ध पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।

ठगी प्रकरण के हो ?

ठगी प्रकरणको मुख्य कथा २०७६ सालको असार ३१ गतेको एक किर्ते सम्झौतासँग जोडिएको छ । महोत्तरी जिल्ला एकडारा गाउँपालिका निवासी मुकेश यादवको नाममा ३० लाख रुपैयाँ निकासी गरिएको थियो । यादवले उक्त रकम निकासी गरिएको बारेमा पछि थाहा पाएपछि प्रहरीमा जाहेरी दिएका थिए । उनले आफ्नो नाममा बनाइएका कागजात र दस्तखत किर्ते गरेर रकम हिनामिना गरिएको उल्लेख गरेका थिए । यस घटनामा संलग्न व्यक्तिहरूले सरकारी छाप र दस्तखतलाई दुरुपयोग गर्दै विभिन्न कागजात तयार पारेका थिए ।

यादवका अनुसार आफ्नो नाममा किर्ते गरेर विभिन्न कागजात तयार गरी ३० लाख रुपैयाँ हिनामिना गरिएको थियो । उनीहरूले सरकारी कार्यालयको नाममा किर्ते कागजात तयार गरेर रकम निकासा गरेको दावी गरेका छन् । यस प्रक्रियामा यादवको नाममा सरकारी भाडा सम्झौतासम्म बनाइएको थियो । जसमा एक वर्षको भाडा र अन्य खर्च पनि किर्ते गरी रकम निकासी गरिएको पाइएको छ ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा केही वर्षदेखि कार्यकारी निर्देशक र अन्य कर्मचारीहरूबीचको मनमुनाटवले कार्यालयको दैनिक काममा ठुलो समस्या आएको थियो । परिषद्का अध्यक्ष शीतल साह र कर्मचारीहरूको बीचमा हुने मनमुटावले कार्यालयको कार्यसम्पादनमा असर पुर्याएको थियो ।

अध्यक्ष साहले कर्मचारीहरूलाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका थिए भने कर्मचारीहरूले अध्यक्षको राजनीति गर्ने प्रवृत्तिको आलोचना गरेका थिए । यस्तो आन्तरिक विवादले परिषद्को कामकाजलाई ठुलो असर पुर्याएको थियो ।