काठमाडौं, २९ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा रहेका पाँच अध्यादेशमध्ये एक अध्यादेश रोकेका छन् । गत शुक्रबार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष पाँच अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

तर, राष्ट्रपति पौडेलले मंगलबार चारवटा मात्रै अध्यादेश जारी गरे । भूमि सम्बन्धी नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश भने रोकिएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा रहेको बताइएको छ । “भूमिसम्बन्धी अध्यादेश जारी भएको छैन । यो अध्यादेश अध्ययनकै क्रममा छ,“ रेग्मीले जानकारी दिए ।

सरकारले सिफारिस गरेको अन्य अध्यादेशहरूमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, र आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश–२०८१ रहेका छन् ।