प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यालय प्रमुख नियुक्ति सम्बन्धी के हो विवाद ?

जनकपुरधाम, २९ पुष । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा कार्यालय प्रमुखको नियुक्ति र अधिकारको विषयमा नयाँ विवाद उब्जिएको छ ।
यो विवाद कार्यालय प्रमुख मृत्युञ्जयप्रसाद यादवको अनुपस्थितिमा कार्यालय प्रमुखको कार्यकक्षमा कब्जा जमाएको आरोपसँग जोडिएको हो । मृत्युञ्जयप्रसाद यादव नभएको बेला प्रणव कुमार यादवले कार्यालय प्रमुखको कार्यकक्ष कब्जा गरेको र आरोप लगाइएको छ ।
निमित्त प्रमुख मृत्युञ्जयप्रसाद यादवले प्रणव कुमारको मधेश प्रदेशमा कहिंपनि दरबन्दी नरहेको र उनी संघको कर्मचारी रहेकोले दरबन्दी नै नरहेको ठाउँमा उनलाई पठाउनु आर्थिक चलखेल रहेको आरोप लगाएका छन् ।
उनले मुख्यमन्त्री कार्यालयले प्रणव कुमारलाई दिएको पत्र सम्बन्धी आफूलाई अफिसियल जानकारी प्राप्त नभएको र आफूलाई कुनै जानकारी नै नदिई उनले जर्बजस्ती कब्जा जमाएको बताए ।
यता, सोही कार्यालयका ल्याब टेक्निसियन अधिकृत युगल किशोर यादवले मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवले रमाना हुने बेलामा पैसा खाएर प्रणव कुमार यादवलाई चिठ्ठी दिएको र सो चिठ्ठी फर्जी रहेको आरोप लगाएका छन् ।
उनले कार्यालयमा नयाँ प्रमुख आउने विषयमा कार्यालय प्रमुख र कर्मचारीहरुलाई पनि कुनै जानकारी नरहेको र काम विशेषले कार्यालय प्रमुख मृत्युञ्जयप्रसाद बाहिर रहेको बेला उनको कार्यकक्षमा प्रणव कुमार यादवले जर्बजस्ती कब्जा जमाएको आरोप लगाए ।
उनले भने, ‘कार्यालय प्रमुख बाहिर रहेको बेला प्रणव कुमार केही गुण्डा र लठैतहरुसहित कार्यालयमा आएर जर्बजस्ती उनको कार्यकक्षमा बसेका थिए । हामीहरुले उनलाई कार्यालयको प्रक्रिया अनुसार आउन भनेपनि उनले जर्बजस्ती गरेका थिए ।’
मन्त्रीस्तरिय निर्णयबाट आएको स्वास्थ्य मन्त्रालयको पत्रलाई कार्यान्वयन गर्न आग्रह गर्दा उनले जर्बजस्ती गरेको अधिकृत यादवको आरोप छ ।
यता मुख्यमन्त्री कार्यालयले २८ गतेको मितिमा आफूलाई निमित्त निर्देशकको रुपमा खटाएकोले आफू आज बिहान साढे १० बजे कार्यालयमा आएको प्रणव कुमार यादवले बताए ।
उनले भने, ‘मलाई मुख्यमन्त्री कार्यालयले २८ गतेको मितिमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको रुपमा खटाएको भन्दै पत्र प्राप्त भयो । सोही अनुसार म आज बिहान साढे १० बजे आएर हाजिर भएको छु ।’
दशौं तहकालाई मुख्यमन्त्री कार्यालयले खटाएकोमा स्वास्थ्य मन्त्रालयको पत्रबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ ।
के हो विवाद ?
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष २८ गते आइतबार सह–प्रमुख माइक्रोबायोलोजिष्ट (अधिकृत दशौं) तहका प्रणव कुमार यादवलाई प्रयोगशालाको निमित्त निर्देशक भई कामकाज गर्न खटाएको थियो ।
मुख्यमन्त्री कार्यालयको पुष २६ गतेको (प्रमुख सचिवस्तर) निर्णयानुसार यादवलाई अर्को व्यवस्था नभएसम्म प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आर्थिक तथा प्रशासनिक अधिकार सहितको निमित्त निर्देशक भई कामकाज गर्न खटाइएको पत्र थमाइएको थियो ।
त्यसको भोलिपल्ट पुष २९ गते सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यादवलाई हाजिर नगराई काज फिर्ता गर्ने सम्बन्धमा पत्र काटेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुष २८ गतेको (प्रमुख सचिवस्तर) निर्णयानुसार स्वास्थ्य सेवा, मे.ल्या.टे समुह, अधिकृत दशौं तह, सह–प्रमुख माईक्रोबायोलोजिस्ट पदका यादवलाई आर्थिक तथा प्रशासनिक अधिकार सहितको निमित्त निर्देशक भई कामकाजमा खटाइएकोमा उक्त पदको अधिकार मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) को अधिनमा रहेको तथा सो बमोजिम नदेखिएको भन्दै उनलाई काज फिर्ता हुन पत्र काटेको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामको दरवन्दी विवरण अन्तर्गत यादवको सेवा, समुह र पदको दरबन्दी रिक्त नरहेकोले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार सहितको निमित्त निर्देशक भई कामकाज विषयक मुख्यमन्त्री कार्यालयको उक्त पत्र कार्यान्वयन गर्न कठिनाई भएको र सो विषय उपर ध्यानाकर्षण भएको हुदाँ उनलाई हाजिर नगराई सम्बन्धित कार्यालयमा फिर्ता पठाउन मन्त्रिस्तरको निर्णयानुसार पत्र काटियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


