युवा क्लबको शरणमा पत्रकार महासंघको नयाँ नेतृत्व !

जनकपुरधाम, २७ पुष । पत्रकारहरुको स्वतन्त्रता प्रर्वद्धन गर्नु, उनीहरूको हक र अधिकारको संरक्षण गर्नु तथा सामाजिक जिम्मेवारीको भावना फैलाउनु नेपाल पत्रकार महासंघको मुख्य उद्देश्य अन्तर्गत पर्दछ ।
यसका अतिरिक्त महासंघले सामाजिक समृद्धिका लागि काम गर्दै पत्रकारितामा गुणस्तर र इमान्दारिता कायम राख्नको लागि पहल गर्नुका साथै पत्रकारहरूको समस्याहरू समाधान गर्न, तालिम र शैक्षिक कार्यक्रम आयोजना गर्न एवम् पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानूनी, सामाजिक र आर्थिक पक्षहरूमा सुधार ल्याउने कार्य पत्रकार महासंघको नेतृत्वले गर्छ भन्ने बुझिन्छ । तर, नेपाल पत्रकार महासंघ धनुषाको वर्तमान नेतृत्वको एउटा कामले पत्रकार र पत्रकारितालाई युवा क्लबको शरणमा सुम्पेको देखिन्छ ।
शहीद पत्रकार उमा सिंहको १६औँ स्मृति दिवसको अवसरमा शनिबार आयोजित राष्ट्रिय पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा विगतमा पत्रिका जलाउने र प्रकाशकको घरमा गई तोडफोड गर्ने स्थानीय महावीर युवा कमिटीको शरणमा महासंघ पुगेको देखिएको छ ।
सम्मान र पुरस्कार आफैंमा एउटा सम्मानित शब्द हो । यसको नाममा यसलाई आफ्नो स्वार्थपूर्तिको हिसाबले प्रयोग गर्नु लज्जास्पद रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष अनिल मिश्रले बताए ।
उनले प्रश्न गर्दै भने, ‘विगतमा आफ्नो पक्षमा समाचार प्रकाशित नहुँदा पत्रिका जलाउँदै जसले प्रकाशकको घरमा तोडफोड समेत गर्यो, आज महासंघको वर्तमान नेतृत्व उसकै शरणमा पुग्नु लज्जास्पद होइन ?’
पूर्वअध्यक्ष मिश्रले सम्मान पत्र महावीर युवा कमिटीले नै प्रदान गर्यो भने त्यस सम्मान पत्रमा नेपाल पत्रकार महासंघको नाम लेख्नु बिलकुलै अनूचित रहेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् ।
‘व्यक्तिगत र सामाजिक विकासमा सम्मान र पुरस्कारको निकै ठूलो महत्व छ । यी दुवै तत्वहरूले मानिसलाई प्रोत्साहित गर्न, योग्यतालाई सम्मानित गर्न र थप सृजनात्मकता तथा प्रयासलाई उत्प्रेरित गर्न भूमिका खेल्छन्, ’उनले भने, ‘यहाँसम्म कि समाज र संस्कृति बनाउनमा पनि सम्मान र पुरस्कारको महत्वपूर्ण स्थान छ । तर, जुन संस्थाले पत्रकारसम्बद्ध संस्थाको विरोध गर्यो आज उसकै शरणमा पत्रकार महासंघ नतमस्तक हुनु ठिक होइन ।’
उनले साझा बनाउनु पर्ने संस्थाको नेतृत्वले आफूलाई समर्पण गरेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।
ज्ञातव्य होस्, सामाजिक विकास तथा संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले स्थापित जनकपुरधामस्थित महावीर युवा कमिटी पदाधिकारीहरुको कमाई खाने भाँडो बनेको भन्दै जनकपुरधामस्थित डेली एक्सप्रेस पत्रिकामा गत २०८० कात्तिक ३ गते समाचार प्रकाशन हुँदा कमिटीका केही पदाधिकारीहरुले पत्रिका जलाउनुका साथै पत्रिकाका प्रकाशक शंकर साहको घरमा तोडफोडसमेत गर्न पुगेका थिए ।
नेपाल पत्रकार महासंघले त्यसबेला महावीर युवा कमिटीको यो कामलाई भर्त्सना गर्दै विज्ञप्तिसमेत निकालेको थियो । महावीरले केही वर्षयता संस्कृति जगेर्नाको नाममा विजयादशमीमा राजदेवी पूजनोत्सवको व्यवस्थापनको नाममा कमाउँदै आएका कमिटी पदाधिकारी अब गुठी संस्थान अन्तर्गत राममन्दिरको अगाडि रहेको जग्गामा पार्क बनाउने नाममा कमाई खानेतर्फ लागेको भन्दै समाचार प्रकाशन भएको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा सो पार्क सौन्दर्यीकरण तथा व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकाले ६० लाख रुपैयाँ छुट्याएको थियो । तर कमिटीकै पदाधिकारीहरुले सफल हुन नदिएपछि त्यो बजेट फ्रिज हुन गयो । गत आवमा काम गर्न नदिई असफल बनाउने कमिटी आबद्ध सदस्यहरु आफू पदमा आएपछि त्यसलाई सक्रिय बनाउन पुनः पार्क सौन्दर्यको प्रस्ताव मेयर मनोजकुमार साह कहाँ प्रस्तुत गरेका थिए ।
यसअघि, २०७६ सालमा पनि लालकिशोर साह जनकपुरधाम उपमहानगरको मेयर रहेका बेला शहीद पत्रकार उमा सिंहको नाममा ५ लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका थिए । साहले ‘कर्मवीर योद्धा’उमा सिंहको नाममा अक्षय कोष स्थापना गर्दै पत्रकारिता क्षेत्रमा न्याय र समानताका लागि स्वतन्त्र तथा निष्पक्ष रूपमा कलम चलाउनेलाई सो सम्मान प्रदान गरिने भनेका थिए ।
साहले २०७७ सालदेखि नै पत्रकार सम्बद्ध संघसंस्थाको सहयोगमा न्याय र समानताका लागि कलम चलाउने पत्रकारको छनोट गरी सम्मानित गर्ने बताएका थिए । लालकिशोरले सो बेला पत्रकारहरुसँग भएको विवादलाई साम्य पार्न आफ्नो नीजि हितका लागि पत्रकारहरुलाई रिझाउन पत्रकारिता नै नगर्ने आफूनिकटका केही आसेपासेको सुझावमा यस्तो घोषणा गरेका थिए । तर, त्यो अक्षय कोष अहिले कहाँ गयो त्यसबारे कसैलाई कुनै जानकारी छैन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


