जनकपुरधाम, २७ पुष । शहीद पत्रकार उमा सिंहको हत्याको आज १६ वर्ष पूरा भएको छ ।

उमाको २०६५ साल पुष २७ गते जनकपुरधामको रजौलस्थित डेरामा निर्मतापूर्वक हत्या गरिएको थियो । राति करिब ७ः३० बजेको समयमा गोविन्द कार्कीको घरमा डेरा लिएर बसेकी उनलाई एक समूहले आक्रमण गरेको थियो ।

आक्रमण लगत्तै उपचारका लागि जनकपुरधाममा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौ लैँजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । सिंहलाई उनकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएकी थिइन् ।

निर्ममतापूर्वक हत्या गरिएका पत्रकार सिंहको १६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको छ ।

शहीद पत्रकार उमा सिंहको योगदान र बलिदानलाई स्मरण गर्दै आयोजना गर्न लागिएको आजको श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा र पूर्वअध्यक्ष धर्मेन्द्र झाको उपस्थिती रहने भएको छ ।

सिंहको हत्यापछि देशभर पत्रकार समाजको सुरक्षा र पेशागत असुरक्षाबारे गम्भीर बहस सुरु भएको थियो ।