काठमाडौं, २६ पुष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगो, हिटर र गिजर प्रयोग गर्दा कार्बन मोनोअक्साइडको जोखिमबारे सचेत गराउँदै नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो आग्रह गरेका हुन् ।

मन्त्रालयले आगो ताप्ने, हिटर बाल्ने र गिजर चलाउने कार्यबारे सन्देश दिनुका साथै केही महत्वपूर्ण सुरक्षा सावधानीहरू पनि बताएको छ । यस्ता उपकरणहरू केवल हावा ओहोरदोहोर हुने स्थानमा प्रयोग गर्न, सकेसम्म कोइला आधारित स्रोतबाट आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामग्रीहरू नजिक नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन अपील गरिएको छ ।

गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला स्थानमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि मन्त्रालयले आग्रह गरेको छ । यदि हिटर वा गिजर प्रयोग गर्दा टाउको दुख्नु, रिंगटा लाग्नु जस्ता लक्षण देखिएमा तुरुन्त झ्याल र ढोका खोलेर हावा ओहोरदोहोर गर्न वा खुला स्थानमा जान सुझाव दिइएको छ ।

यस्ता लक्षणहरूमा कमि नदेखिएमा वा अवस्था थप गम्भीर भएमा तत्काल अस्पताल जान वा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरेर परामर्श लिन अनुरोध गरिएको छ ।

जाडो यामको बेला शरीर र कोठालाई न्यानो राख्नको लागि आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गर्ने सामान्य अभ्यास हो । तर, यस्ता उपकरणहरूको प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरूको संख्या बढेको छ । यस वर्ष पनि यस्ता उपकरणहरूको प्रयोग गर्दा केही व्यक्तिहरु अस्पतालमा उपचाररत छन् ।

घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड जम्मा हुन सक्दछ । यो ग्यास गन्ध, रंग र स्वादरहित भएता पनि अत्यन्त विषाक्त छ । यसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छ, जसका कारण ज्यानसमेत जान सक्छ ।