काठमाडौं, २६ पुष । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आगामी महाधिवेशनका लागि एक नयाँ निर्देशिका तयार पारेको छ ।

पार्टीको वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा तयार भएको निर्देशिका आज लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई हस्तान्तरण गरिएको हो । लोसपाले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ । महाधिवेशन २०८२ साल वैशाख २६ गते हुनेछ ।

पार्टीका उपाध्यक्ष सोनलका अनुसार निर्देशिकामा महाधिवेशनका लागि आवश्यक तयारीको मार्गदर्शन र संरचना समावेश गरिएको छ ।यस निर्देशिकामा पार्टीका विभिन्न तहमा अधिवेशन कसरी सञ्चालन गर्ने, प्रतिनिधिहरू कसरी चयन गर्ने र चुनाव प्रक्रिया कस्तो हुने लगायतका महत्वपूर्ण बुँदाहरू समावेश गरिएको छ ।

सोनलले भने, “महाधिवेशनका लागि निर्देशिका तयार भइसकेको छ । अब महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढ्नेछ ।“ यसले पार्टीका आन्तरिक संरचनाहरूमा सुधार ल्याउने र चुनावी प्रक्रियालाई कागजी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको बताइएको छ ।

निर्देशिकामा पार्टीको संरचना समावेशी र बलियो बनाउने उद्देश्यले तलदेखि माथिसम्म ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ । यसका साथै विभिन्न जातजाति, समुदाय र सामाजिक संरचनाहरूको प्रतिनिधित्वलाई उनको जनसंख्या र भूगोलको आधारमा सुनिश्चित गर्न व्यवस्था गरिएको छ ।

सोनलले थपे, “हामीले संगठनलाई बलियो र समावेशी बनाउनका लागि विभिन्न पहलहरूलाई निर्देशिकामा समेटेका छौं । यसले पार्टीका हरेक संरचनाहरू चुनावी विधिबाट गठन हुने व्यवस्था गरेको छ ।“ उनका अनुसार महाधिवेशन र अधिवेशनका कार्य समितिहरू चुनावी प्रक्रियामा चयन हुनेछन् । चुनावी प्रक्रियामा सहमति भएमा फरक कुरा हुनसक्छ । तर। संरचनामा भएका परिवर्तनहरूको चयन मात्र चुनाव प्रक्रियाबाट हुनेछ ।

लोसपाको महाधिवेशनको तयारी अब अन्तिम चरणमा पुगेको बताइएको छ । यस महाधिवेशनमा पार्टीका सबै तहका प्रतिनिधिहरूको चयन र नयाँ नेतृत्वको निर्माणको प्रक्रिया सम्पन्न हुनेछ । यससँगै पार्टीको समग्र संगठनात्मक क्षमता र सामूहिक नेतृत्वलाई सुदृढ गर्नका लागि पनि महाधिवेशनको तयारी अघि बढिरहेको छ ।

लोसपा नेपालले यस महाधिवेशनलाई आफ्ना कार्यकर्ताहरूलाई समेट्दै पार्टीको भविष्यका लागि नयाँ दिशा र नेतृत्वको खाँचो पूरा गर्ने अवसरको रूपमा लिइरहेको छ । आगामी महाधिवेशनपछि पार्टीको आन्तरिक संरचनामा एक ठूलो परिवर्तन र सुधार आउने अपेक्षासमेत गरिएको छ ।