जनकपुरधाम, २६ पुष । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीस्थित तपसी बाबा माध्यमिक विद्यालयको भ्रमण अवलोकन गरेका छन् ।

विद्यालयका संस्थापक गंगाराम यादवको विशेष उपस्थितिमा राउतले विद्यालय परिसर, तपसी बाबा मन्दिर, मोक्षद्वार र शमसान घाटको अवलोकन गरेका हुन् ।

भ्रमणमा स्थानीय बुद्धिजीवी, वडा प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

विद्यालयमा आयोजित स्वागत कार्यक्रममा स्थानीय श्याम यादवले विद्यालयको इतिहास र गंगाराम यादवको योगदानका बारेमा चर्चा गरेका थिए । प्रधानाध्यापक मदन कुमार महराले राउतलाई स्वागत गर्दै विद्यालय र तपसी बाबा कलेजको छोटो जानकारी दिए । उनले विद्यालयको सम्पूर्ण पक्षबाट सहयोगको अपेक्षासमेत राखे । सबैको सहयोगले यस विद्यालयलाई नमुना विद्यालयमा रूपान्तरण गर्न मद्दत पुर्याउने उनले आशा व्यक्त गरे ।

समाजसेवी गंगाराम यादवले आफ्नो बाल्यकाल तपसी बाबाको शरणमा बिताएको र उहाँकै कृपाबाट आज समाजसेवामा संलग्न रहेको बताए । उनले विद्यालयमा पढ्ने गरीब र दलित बालबालिकाको लागि काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

पूर्वमुख्यमन्त्री राउतले आफ्नो कार्यकालमा लिएको विभिन्न योजनाहरूको उल्लेख गर्दै महिला र दलितहरूको सशक्तिकरणका लागि विभिन्न नीतिहरू लागू गरेको बताए । उनले विद्यालय र समाजसेवी गंगाराम यादवको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा विद्यालयको उन्नति र प्रगतिमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राउतले टिल्हीलाई तपसीबाबाको नगरी र गंगाराम यादवको गाउँको रूपमा सम्बोधन गर्दै समाजको समृद्धिका लागि यसरी नै राम्रा कार्यहरू गर्दै जाने कुरामा विश्वास व्यक्त गरे ।