पोखरा, २५ पुष । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतको आदेश अनुसार जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छुट्न पाउने छन् ।

आज सरकारी वकिलको जवाफी बहसपछि कास्की जिल्लाका न्यायाधीश नीतिज राईको इजलासले उक्त आदेश दिएका हुन् । वकिल कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस प्रस्तुत गरेका थिए ।

यसैगरी छविलाल जोशीसँगै रास्वपा सभापति रवि लामिछाने, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छाड्न आदेश दिइएको छ ।

पूर्वडीआईजी छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरिएको थियो । कास्की जिल्ला सरकारी वकिल कार्यालयले पुस ५ र पुस ७ गते सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यस मुद्दामा वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढीको विगो माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।