रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ, २५ पुष । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि बिहीबार अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको थियो ।
यस मुद्दामा सहकारीको बचत रकम अपचलनको आरोप लगाइएको छ । अदालतमा गत पुस १६ गतेदेखि थुनछेक बहस चलेको थियो । यस प्रकरणमा लामिछानेसहित अन्य ४४ जनाविरुद्ध सहकारीको रकम अपचलनको आरोपमा मुद्दा दायर गरिएको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोप पनि लगाइएका छन् । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


