मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

जनकपुरधाम, २५ पुष । मधेश प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।
मधेश प्रदेश सभाको बिहीबार बसेको चौथो अधिवेशनको तेस्रो बैठकबाट मधेशमा पर्यटनको विकास र प्रवर्द्धनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
यस विधेयकको उद्देश्य मधेशमा पर्यटनको विकास र प्रवर्द्धनलाई प्रोत्साहित गर्नु हो । यसले प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
विधेयकलाई प्रदेश सभा सदस्यहरूले छलफल पछि सर्वसम्मत रुपमा पारित गरिएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाले विधेयक प्रस्तुत गरेका थिए । मन्त्री मियाले विधेयकका विभिन्न पक्षहरूको चर्चा गर्दै यसले मधेशको पर्यटन क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने र पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा मद्दत गर्ने बताएका थिए ।
मन्त्री मियाले सो विधेयकको बारेमा चर्चा गर्दै भने, “मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएपछि यहाँको पर्यटकीय क्षेत्रको समग्र प्रगति हुनेछ । यसले स्थानिय रोजगार सिर्जना र विदेशी निवेशको आकर्षण पनि ल्याउनेछ ।”
विधेयकमा मधेश प्रदेशको पर्यटकीय स्थलहरूलाई विश्वसामु प्रस्तुत गर्न र स्थानिय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नका लागि ठोस रणनीतिहरू राखिएका छन् । यसका साथै पर्यटनका लागि नयाँ संरचनात्मक ढाँचाहरू निर्माण, मार्गदर्शन नियमावलीको निर्माण र प्रचार–प्रसारका कार्यक्रमहरू पनि योजनामा राखिएका छन् ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले “प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक“ पनि प्रस्तुत गरेका छन् । यस विधेयकको उद्देश्य प्रदेशको कृषि क्षेत्रलाई थप समृद्ध बनाउन र कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने हो ।
मधेश प्रदेश सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ । भोली बस्ने बैठकमा अन्य महत्वपूर्ण विधेयकहरू र विकाससम्बन्धी योजना अघि बढाइने छ ।
पारित भएका विधेयकहरूले प्रदेशको समग्र सामाजिक र आर्थिक विकासमा ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


