राजेन्द्र महतोको शर्त : उद्देश्य स्पष्ट भए मात्रै सहकार्य वा एकता हुन्छ

काठमाडौँ, २५ पुष । मधेस केन्द्रित दलहरूले एकता र सहकार्यका लागि नयाँ पहल उठाएका छन् । यस क्रममा विभिन्न नेताहरूले आ–आफ्नो पार्टीमा कार्यदल गठन गरि आगामी सहकार्यको दिशा तय गर्नका लागि छलफलमा जुटेका छन् । तर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता र सहकार्यको लागि एउटा महत्वपूर्ण सर्त अघि सारेका छन्— “उद्देश्य स्पष्ट नभएसम्म सहकार्य र एकता संभव छैन ।“
महतोका अनुसार मधेस केन्द्रित दलहरूको बीचमा सहकार्य र एकता हुनु राम्रो कुरा हो, तर यसका लागि स्पष्ट उद्देश्यको आवश्यकता छ । यस विषयमा विस्तृत छलफल गर्न राष्ट्रिय मुक्ति पार्टी नेपालले चन्द्रागिरिमा तीन दिनसम्म पदाधिकारी बैठक आयोजना गरेको थियो । बैठकमा पार्टीका नेता सन्तोष मेहताले सहकार्य र एकताका पक्षमा सबै सकारात्मक भएपनि यो सहकार्यको उद्देश्य अस्पष्ट रहेको टिप्पणी गरेका थिए ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, “मधेसी दलहरूको बीचमा जस्तोसुकै एकता र सहकार्य भए पनि, सत्ताधारी ठुला दलहरूले संविधान संशोधन गर्छन् भन्ने कुरा थाहा छ । संविधान संशोधन संसदबाटै हुनेछ, त्यसको लागि एकता वा मोर्चाबन्दी गर्नुको कुनै अर्थ छैन ।“ उनले अझ थपे, “दीर्घकालीन परिवर्तन र सामाजिक सोचका लागि संघर्ष गर्ने हो भने हामी सहकार्य र एकता गर्ने पक्षमा छौं । २०८४ को चुनावमा कसैलाई सांसद बनाउन, कसैलाई मन्त्री बनाउन वा कसैको दल जोगाउनका लागि एकता हुनुहुँदैन ।“
राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी सहकार्य र एकताको लागि आफ्नो शर्त राख्ने तयारी गरेको छ । अध्यक्ष महतोका अनुसार पार्टी चाँडै कार्यदल गठन गर्ने योजना बनाएको छ जसले अन्य दलहरूसँग छलफल गर्दा आफ्ना शर्तहरू राख्नेछ ।
बैठकमा दुई प्रमुख कार्यपत्रमाथि विस्तृत छलफल भएको थियो । पार्टीका नेता बुद्ध छिरिङले प्रस्तुत गरेको राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा र नेता सन्तोष मेहताले प्रस्तुत गरेको राष्ट्रिय मुक्ति क्रान्तिको नीति र योजनामाथि गहिरो छलफल भएको थियो । बैठकले यी दुवै कार्यपत्रलाई पारित गरेको छ । यसका आधारमा माघको दोस्रो हप्तामा बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने बताइएको छ ।
बैठकमा केन्द्रीय समितिको बैठकको बारेमा पनि छलफल गरिएको थियो । आगामी बैठकमा दुई दिन प्रशिक्षण कार्यक्रम हुनेछ भने बाँकी दिन अन्य एजेन्डाहरूमा छलफल गरिनेछ । पहिचानवादी शक्तिहरूको बीचमा सहकार्य र एकताको विषयमा केन्द्रीय समितिको बैठकमा पनि गहन छलफल हुने सम्भावना छ । यसैबीच राष्ट्रिय मुक्ति पार्टी नेपालले फागुन १६ गते काठमाडौँमा आयोजना गर्ने बृहत् प्रदर्शनको तयारीका विषयमा पनि बैठकमा चर्चा भएको थियो ।
नेता मेहताका अनुसार आगामी केन्द्रीय समितिको बैठकमा पार्टीको दीर्घकालीन योजना र रणनीतिक दिशा तय गरि मधेस केन्द्रित दलहरूको बीचमा सहकार्य र एकताको सम्भावनाहरूमा थप विचार गरिनेछ । पार्टीले आगामी निर्वाचनका लागि एकता र सहकार्यको सही दिशा खोज्ने कार्यलाई प्राथमिकता दिनेछ ।
यसैबीच, राष्ट्रिय मुक्ति पार्टी नेपालले भविष्यमा बृहत् प्रदर्शन र आन्दोलनलाई सशक्त बनाउन र मधेसका सवालमा सशक्त आवाज उठाउनका लागि विभिन्न रणनीतिहरू पनि तय गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


