मधेश प्रदेश सभा : सांसदको योग्यतामाथि प्रश्न !

जनकपुरधाम, २५ पुष । संसारभरका संसदका मुख्य चार कामहरू छन्—कानून बनाउने, बजेट पारित गर्ने, जनताको आवाज बोल्ने र सरकारको निर्माण, अनुगमन र खबरदारी गर्ने । यी चार कार्य संसद र सांसदको महत्वपूर्ण जिम्मेवारी हुन् । यसले समाजको शासन, व्यवस्था र प्रगति निर्धारण गर्छ । संसारभरका लोकतान्त्रिक राष्ट्रहरूमा संसद एउटा संस्था हो, जसले जनताको इच्छालाई सरकारमा प्रस्तुत गर्नका लागि काम गर्दछ ।
तर, जब यो कुरा मधेश प्रदेशको संसदको बारेमा आउँछ, तब स्थिति केही फरक देखिन्छ । मधेश प्रदेशमा संसदको अभ्यास ७ वर्षदेखि निरन्तर भइरहेको भएपनि सांसदहरूको भूमिकामा सुधारको आवश्यकता अझै देखिन्छ । सांसदहरूको काम केवल संसदको बैठकमा उपस्थित भएर बोल्ने मात्र होइन, जनताको प्रतिनिधित्व गर्दै, सरकारका निर्णयहरूको निगरानी गर्नु पनि हो । तर, दुःखको कुरा यो हो कि अधिकांश समानुपातिक सांसदहरू संसदमा राम्ररी बोल्दैनन् पनि ।
मधेश प्रदेशमा संसदको अभ्यास विगत ७ वर्षदेखि निरन्तर भइरहेको छ । तर, सांसदहरुको भूमिकाबाट बिल्कुलै सन्तुष्टि पाइँदैन ।यसको पछिल्लो उदाहरण हो, मधेश प्रदेश सभाको बुधबार बसेको चौथो अधिवेशनको दोस्रो बैठक । सो बैठकमा नेपाली कांग्रेस सर्लाहीकी समानुपातिक सांसद शकुन्ती देवीले सभाको शुरुवातमै बोलेकी थिइन ।
उनलाई सभामुख रामचन्द्र मण्डलले सुरुमै बोल्ने समय दिएपछि उनले भनेकी थिइन्, ‘सरकारको दुई वर्ष बित्यो । आजसम्म सरकारले के–के गर्यो त्यो केही थाहा छैन् । जनता आवास कार्यक्रम सम्बन्धमा मधेश प्रदेश सभामा रहेका १०७ जना प्रदेश सभा सदस्यहरुमध्ये हामीलाई केही जानकारी नै हुँदैन् । जनस्वातको बजेटमा एउटा पनि महिलाको फाइल छैन् । जनस्वातमा कुन–कुन कार्यक्रम भएको छ त्यसबारे कुनै सांसदलाई थाहा छैन् । भोक्ता समितिमा काम हुनु पर्दैन । आफ्नो फाइदाका लागि कुनैपनि काम भोक्ता समितिले गर्छ । यति भन्दै नमस्कार गर्छु ।’
सांसद शकुन्ती देवीले बोलेको शब्दहरु ‘जनस्वात’ र ‘भोक्ता समिति’ को भाव सबैले बुझेपनि यी शब्दहरुले उनको शैक्षिक योग्यतामाथि भने प्रश्न पक्कै उठाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


