स्वास्थ्य मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने

काठमाडौं, २४ पुष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ ।
मन्त्रालयले निजी, सहकारी, गैरसरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई इजाजतपत्र नवीकरण नगरेको अवस्थामा सञ्चालन नगर्न चेतावनी दिएको हो ।
मन्त्रालयका अनुसार, कतिपय गैरसरकारी र सामुदायिक स्वास्थ्य संस्थाहरूले इजाजतपत्र नवीकरण नगरी सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ । यसअघि प्राप्त उजुरीका आधारमा मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका संस्थाहरूसँग पत्राचार गरी अनुमति लिनको लागि सूचना जारी गरेको थियो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरूले आवश्यक मापदण्डहरू पालन गरेको सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका थिए । जनस्वास्थ्य सेवा नियमावलीअनुसार इजाजतपत्र बिना स्वास्थ्य सेवा उपलब्ध गराउन नमिल्ने व्यवस्था भए तापनि केही संस्थाले यसलाई उल्लंघन गरेको पाइएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार इजाजत नवीकरण नगरेका संस्थाहरूको अनुगमन गरि नियमानुसार नभएमा तिनीहरूविरुद्ध कारबाही गरिने छ ।
मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई इजाजतपत्र नवीकरण गरेर मात्र सेवा सञ्चालन गर्ने अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


