जनकपुरधाम, २४ पुष । आमसञ्चार प्राधिकरण मधेश प्रदेशले धनुषाका पत्रकारहरूको लागि साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रमले पत्रकारहरूलाई साइबर सुरक्षाका महत्त्वपूर्ण पक्ष र एआइ प्रविधिको सकारात्मक र नकारात्मक प्रभावबारे जानकारी प्रदान गर्ने लक्ष्य राखेको थियो ।

कार्यक्रममा पत्रकारिता र प्रविधिका क्षेत्रका विशेषज्ञ जीवन भण्डारी र प्रकाश मैनालीले साइबर सुरक्षा र एआइको क्षेत्रमा भएका नवीनतम विकासहरू र तिनका पत्रकारितामा प्रभावबारे जानकारी दिएका थिए । पत्रकारहरूले आगामी समयको लागि आफूलाई सुसज्जित बनाउन र साइबर आक्रमण र प्रविधिको दुरुपयोगबाट जोगिन आवश्यक ज्ञान प्राप्त गरे ।

कार्यक्रमको उद्घाटन गर्दै आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता तालिम, पत्रकारहरूको व्यावसायिक विकास, बीमा कार्यक्रम र जिम्मेवार पत्रकारिताको लागि प्राधिकरणले निरन्तर रूपमा कार्य गर्दै आएको जानकारी दिए ।

उनले भने, “आधुनिक समयमा पत्रकारिता र प्रविधिको राम्रो समन्वयले पत्रकारहरूको जीवनलाई अझ सहज र सुरक्षित बनाउन मद्दत पु¥याउँछ। हामी यस क्षेत्रमा निरन्तर काम गर्दैछौं ।”

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले कार्यक्रमको सराहना गर्दै एआइ र साइबर सुरक्षासम्बन्धी प्रशिक्षण पत्रकारहरूको सीप र क्षमता विकासमा ठूलो मद्दत पुगेको बताए । उनले कार्यक्रमको आयोजनामा सहभागिता जनाएका सबैलाई धन्यवाद ज्ञापन गरे ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले भने, “इच्छाशक्ति भएपछि कुनैपनि कार्य सम्भव छ । ६ वर्षसम्म हुन नसकेको शिक्षा नीति मैले मन्त्रीको पदमा रहेका दुई महिनामा बनाएको छु ।”

उनले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिहरूको उल्लेख गर्दै प्रदेशका पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमासहित अन्य विभिन्न योजनाहरूको सुरुवात गरिसकेको जानकारी दिए । मन्त्री लेखीले आगामी योजनाबद्ध कामहरूको बारेमा पनि जानकारी दिए । उनले पत्रकारहरूको हकमा विभिन्न सुविधाहरू र योजनाहरू बनाउनका लागि आफ्नो मन्त्रालय सक्रिय रहेको उल्लेख गरे ।

कार्यक्रमको समापनमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महिला उपाध्यक्ष ज्योति झाले कार्यक्रमको प्रभावकारिता र यसको महत्वलाई रेखांकित गर्दै यस कार्यक्रमले पत्रकारहरूको साइबर सुरक्षा र एआइ प्रविधिको ज्ञानमा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गरिन् । उनले आमसञ्चार प्राधिकरणको कार्यको प्रशंसा गर्दै यस प्रकारका प्रशिक्षण कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको कुरामा जोड दिइन् ।

अभिमुखिकरण कार्यक्रममा धनुषाका पत्रकारहरू उपस्थित थिए । पत्रकारहरूले यस प्रकारको प्रशिक्षणलाई आफ्ना कार्यक्षेत्रमा उपयोगी र आवश्यक बताउँदै भविष्यमा यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

पत्रकारिताका क्षेत्रमा अहिलेको समयमा हुने प्रविधि र साइबर जोखिमको बारेमा पत्रकारहरूले नयाँ दृष्टिकोण र सिप सीपका साथ आफ्नो कार्यलाई अघि बढाउन प्रेरित भएका थिए ।