सुनसान विशिष्टिकृत अस्पताल !

जनकपुरधाम, २३ पुष । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेको विशिष्टिकृत अस्पताल नामाकरण गरिएको जनकपुरधामको मुजेलियास्थित मणिपाल अस्पताल सुनसान प्रायः छ । सोमबार दिउँसो करिव २ बजेको समयमा पुग्दा दुईजना कर्मचारीबाहेक त्यहाँ कोही थिएनन् । त्यहाँ भने खासै धपेडी थिएन ।
गत २०७७ कार्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी २०७८ मंसिर महिनादेखि चार विषयको कक्षा सञ्चालन गर्दै आएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुर साहले आइसियू सञ्चालन गर्ने लगायत बिहानदेखि बेलुकासम्म त्यहाँ बिएसी नर्सिङ, बिपिएच, बिएमएलटी र बिएन एस कक्षा सञ्चालन हुँदै आएको जानकारी दिए । तर, त्यहाँ पुग्दा अवस्था भने बेग्लै थियो । दिउँसो करिव २ बजेकै समयमा प्रशासनिक निकायदेखि सबै सुनसान थियो । एकजना पनि विद्यार्थी त्यहाँ थिएनन् ।
उपकुलपति साहले मणिपाल शिक्षण अस्पतालले स्वामित्व हस्तान्तरण नगरेकोले अस्पताल सञ्चालनमा समस्या भइरहेको जानकारी दिए । उनले मणिपालले आफ्नो भवन पुनः फिर्ता मागिरहेकोले यहाँ अस्पताल सञ्चालनतर्फ प्रदेश सरकारले चासो नदिएको बताए ।
उपकुलपति साहले भने, “आफ्नो स्वामित्वको अस्पताल प्रतिष्ठानसँग छैन, मणिपालले आफ्नो भवन पुनः फिर्ता मागिरहेको छ । यस्तो अवस्थामा यसलाई सञ्चालन गर्न कठिन नै छ ।”
यसअघि मधेश सरकारले २०७८ सालमा मणिपाललाई कोभिड विशेष अस्पताल बनाएको थियो । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी)ले कोभिड संक्रमितको उपचारका लागि छुट्टै अस्पतालका रुपमा मणिपाललाई तयार गरिएको थियो । मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले एक सय शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो ।
विशिष्टिकृत अस्पतालको रूपमा लैजाने उद्देश्यसहित सञ्चालन गरेपनि यो अस्पताल अहिले आफैं बिरामी जस्तै छ ।
शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएको मणिपालले दशकौंपछि पनि अस्पताल सञ्चालन गर्न नसकेकाले लिज खारेज गराएर सो जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल भने अहिलेसम्म हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


