हाकिम साहेब कता हुनुहुन्छ ?

जनकपुरधाम, २३ पुष । सोमबार जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरु आक्रोशित हुँदै कार्यालय प्रमुखलाई खोज्दै थिए । तर, आफ्नो कार्यकक्षमा कार्यालय प्रमुख धनंजय कुमार सिंह भने थिएनन् ।
उनको कोठामा जाँदा गेटबाहिर नेमप्लेटमा कार्यालय प्रमुख ‘भित्र’ लेखिएपनि उनी बस्ने कुर्सी भने खाली थियो । सेवाग्राहीहरु धेरैबेर कुरे तर उनी आएनन् । करिव १२ बजेर ५० मिनेटमा उनको नम्बरमा फोन गर्दा आफू कामको शिलशिलामा मन्त्रालय आएको र केहीबेर पछि कार्यालयमा आउने भन्दै फोन काटे । कार्यालयको बेथितिबारे उनीसँग बाइट लिएर जाने भन्दै हामी सञ्चारकर्मी करिव एक/डेढ घण्टा कार्यालयको वरपर घुम्यौं । तर, साढे २ बजेसम्म पनि उनी कार्यालयमा उपस्थित भएनन् ।
कार्यालयबाट सेवा प्रवाहमा कठीनाई भएसँगै उनी दवाव झेल्न नसकेर कार्यालय छाडेर अन्यत्र जाने गरेको एक जना कर्मचारीले बताए ।दैनिक केही न केही समस्या आइरहँदा आफूहरु पनि निकै तनावमा रहेको कार्यालयका कर्मचारी बताउँछन् ।
सरकारी कार्यालयबाट हुने सेवा प्रवाह, कर्मचारीहरुको उपस्थिति अवस्था बारेमा सम्बन्धित सरोकारवाला निकायले छडके/अनुगमन नगर्दा यस्तो अवस्था देखिएको एकजना सेवाग्राहीले बताए ।
कार्यालय प्रमुख नियमित नबस्दा कार्यालयका दैनिक गतिविधिहरू प्रभावित भइरहेको बताइएको छ । कर्मचारी स्रोतका अनुसार कार्यालय प्रमुख सिंह प्रायःजसो अनुपस्थित भइरहँदा कार्यालयको काम प्रभावित भइरहेको बताइएको छ ।
यस विषयमा उनीसँग कुरा गर्दा उनले कामविशेषले गर्दा मन्त्रालय जानुपरेको र फोनमा सबै कुरा भन्न नमिल्ने बताएका थिए ।
यो त एउटा उदाहरण मात्र हुन सक्छ । अहिले जिल्लाका हाकिममात्र नभई गाउँ र इलाका स्तरका प्रमुखसमेत कार्यालयमा भेटिन्नन् ।अधिकांश गाविस सचिवसमेत कार्यक्षेत्रमा छैनन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


