जनकपुरधाम, २३ पुष । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा सोमबार सवारीचालक अनुमतिपत्र लिने सेवाग्राहीहरू बायोम्याट्रिकका लागि औँठाछाप र आँखाको रेटिना स्क्यान गर्ने, नवीकरण गर्ने र राजस्व तिर्ने ठाँउमा लस्करै लाइनमा थिए । राजस्व बुझाउने कोठाछेउमै रहेको स्वास्थ्य जाँच कक्षमा पनि सेवाग्राहीको भीड थियो । अन्य प्रक्रियाभन्दा लामो समय लाग्नुपर्ने स्वास्थ्य जाँचजस्तो संवेदनशील काम पैसा बुझाएर राजस्व तिरेभन्दा पनि सजिलोसँग भइरहेको देखिन्थ्यो ।

स्वास्थ्य जाँचका लागि आएका सेवाग्राहीसँग कर्मचारीले १५० रुपैयाँ शुल्क लिएर स्वास्थ्य परिक्षण रसिद बाँडिरहेको देखियो । सेवाग्राहीको भीडसँगै यो क्रम तीव्र गतिमा चलिरहेको थियो । कोठाको भित्तामा आँखा जाँचका लागि चाहिने विभिन्न आकारका अक्षरहरू झुण्ड्याइएका थिए । तर चालक अनुमतिपत्र लिन चाहनेहरूमा छारेरोग लगायतका समस्या भए/नभएको जाँचका लागि आवश्यक उपकरणहरू थिएनन् ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाममा परिक्षणबिना नै स्वास्थ्य परिक्षण रसिद बाँड्ने गरेको देखियो । सवारी साधनको नयाँ चालक अनुमति पत्र बनाउनका लागि आवश्यक पर्ने स्वास्थ्य परिक्षण रिपोर्टमा यस्तो चरम लापरवाही देखिएको हो ।

यातायात व्यवस्था कार्यालयले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० बमोजिम स्वास्थ्य परिक्षण गरेबापत सेवाग्राहीसँग नगद १५० रुपैयाँ लिने गरेको छ । तर, सो रकम लिएबापत कार्यालयले भने स्वास्थ्य परिक्षणको कुनै रिपोर्ट नै नदिई सेवाग्राहीहरुको हातमा स्वास्थ्य परिक्षण रसिद थमाउने गरेको देखिएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधामले उपलब्ध गराउने स्वास्थ्य परिक्षण रसिदमा सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० बमोजिम स्वास्थ्य परिक्षण गरे वापत नगद रु. १५० प्राप्त भयो भन्दै लेखिएको छ । त्यसमा दुईजना चिकित्सक डा. अवधेश कान्त झा र डा. अशोक कुमार साहको नामसमेत लेखिएको छ । तर, रसिदमा न त बुझाउनेको न त बुझिलिनेको हस्ताक्षर छ ।

कार्यालयले मापदण्ड उल्लंघन गरी सेवाग्राहीहरूको स्वास्थ्य परीक्षणमा चरम लापरबाही गरेको भेटिएको हो । स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट तयार गर्नु कार्यालयको चरम लापरवाही रहेको एकजना सेवाग्राहीले बताए ।

यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ४ को दफा ४७ ले छारेरोग भएको, मानसिक सन्तुलन बिग्रिएको, रिँगटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको र साधारण ध्वनि संकेत सुन्न नसक्ने गरी बहिरो भएको व्यक्तिलाई सवारीचालक अनुमतिपत्र लिन अयोग्य ठहर्याएको छ । ऐनको यो दफाअन्तर्गत क्रम संख्या (ग) देखि (ज) सम्मका विभिन्न प्रावधानहरूले रातो, हरियो र पहेँलो रङ तुरुन्त छुट्ट्याउन नसक्ने दृष्टिदोष भएको, रतन्धो व्यक्ति वा हातखुट्टा शक्तिहीन भई काम दिन नसक्ने भएको व्यक्तिलाई पनि सवारीचालक बन्न अयोग्य ठहर्याउँछन् । तर शारीरिक अपांगतालगायत विशेष अवस्थाका व्यक्तिको लागि बनेका सवारी साधनको हकमा परीक्षण गरेर उपयुक्त देखिएमा मात्र सवारीचालक अनुमतिपत्र दिनुपर्ने व्यवस्था ऐनमा छ ।

यातायात कार्यालयहरूले सवारीचालक अनुमतिपत्र दिँदा कानूनी व्यवस्थाअनुसार सेवाग्राहीको स्वास्थ्यलाई महत्व दिएर विश्वसनीय तवरले स्वास्थ्य जाँच नगरेको गुनासो कतिपय सेवाग्राहीले नै सुनाए ।

एकजना सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा भने, “स्वास्थ्य जाँच गराउन म लाइनमा बसेको थिएँ । तर, कोठा नम्बर ७ मा १५० रुपैयाँमै निरोगिताको प्रमाणपत्र दिइरहेको देखेँ । सरकारी कार्यालयमा यस्तो व्यवहार भएपछि आधिकारिक प्रक्रिया के हो भनेर कसरी थाहा पाउने ?”

स्वास्थ्य मापदण्डका सबै पक्ष यकिन गर्न ल्याब सहितका उपकरणहरू र डाक्टरको टोली राखेर जाँच गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । जबकी सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्न यातायात व्यवस्था कार्यालय नगए पनि हुने व्यवस्था छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा यातायात व्यवस्था विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८० जारी गर्दै यस्तो व्यवस्था लागू गरिसकेको छ ।

सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग पनि स्वास्थ्य परीक्षण गर्न सक्नेछन् । स्वास्थ्य परीक्षण गर्ने काम सूचीकृत गरेर अनलाइनबाटै गराउन सकिन्छ । जहाँ बसेर भएपनि स्वास्थ्य परीक्षणको रिपोर्ट अनलाइनबाटै रिपोर्ट हालेपछि सेवाग्राही यातायात कार्यालयमा आइरहन पर्दैन । यो व्यवस्थासहितको कार्यविधि हो ।

नयाँ सेवाग्राहीले आवेदन दिने प्रक्रिया के छ ?

नयाँ सेवाग्राहीले प्रणालीमा लगइन भएपश्चात सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्दा निम्न प्रक्रिया अवलम्बन गर्नुपर्दछ :

– अनलाइन प्रणालीमा लगइन भएपछि आफ्नो युजर अकाउन्टको ड्यासबोर्डमा रहेको ‘नयाँ लाइसेन्सको आवेदन’ बटनलाई क्लिक गर्नुपर्छ ।

– त्यसपछि मेडिकल चेकजाँचको ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने र ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प देखा पर्छ । त्यसमध्ये एउटा विकल्प छनौट गर्नुपर्छ । प्रदेशले कार्यालय बाहिर रहेर सेवा दिने चिकित्सक सूचीकृत नगरेसम्मका लागि कार्यालयमा नै गई मेडिकल जाँच गर्ने विकल्प मात्र उपलब्ध हुनेछ ।

– ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प छनौट गरेका आवेदकले सवारी चालक अनुमतिपत्रको आवेदन गर्न चाहेको र नियमानुसार आफू योग्य भएको वर्ग छनौट गरी सवारी चालक अनुमतिपत्रका लागि आवेदन पेश गर्न चाहेको अफिस र कार्यालय जाने मिति (Appointment Date) छनौट गरेर पेश गरेपछि निजको आवेदन पेश भई ‘Reference Number’ प्राप्त हुन्छ ।

– ‘Reference’ प्राप्त भएपछि नम्बर आवेदन फारम डाउनलोड गरी सक्कल नागरिकता सहित कार्यालयमा जानुपर्नेछ । कार्यालयमा निजले जैविक विवरण दिई स्वास्थ्य परीक्षण समेत गराउनुपर्नेछ ।

– ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प छनौट गरेका आवेदकले निम्नानुसारको प्रक्रिया अवलम्बन गर्नुपर्नेछ :

क) सवारी चालक अनुमतिपत्रको आवेदन गर्न चाहेको र नियमानुसार आफू योग्य भएको वर्ग छनौट गरी सवारी चालक अनुमतिपत्रको लागि आवेदन पेश गर्न चाहेको कार्यालय र चिकित्सकको नाम ठेगाना छनौट गरी पेश गर्नुपर्छ । त्यसपछि चिकित्सकको विस्तृत विवरण प्राप्त हुन्छ ।

ख) आवेदकले चिकित्सकसँग भेट गरी स्वास्थ्य परीक्षण गराउनुपर्छ । चिकित्सकले नियमानुसार सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी अनलाइन आवेदनको मेडिकल चेकजाँच प्रणालीमार्फत स्वस्थ/अस्वस्थ भएको जनाउनुपर्नेछ । साथमा मेडिकल रिपोर्ट समेत अपलोड गर्नुपर्नेछ ।

ग) मेडिकल जाँचमा उत्तीर्ण सेवाग्राहीले नतिजाको जानकारी प्राप्त भएपश्चात पुनः आफ्नो युजर एकाउन्ट प्रोफाइलमा लगइन गरी कार्यालय जाने मिति छनोट गरी आवेदन गर्नु पर्नेछ । त्यसपछि ‘Barcode’ सहितको ‘Reference Number’ प्राप्त हुन्छ ।सेवाग्राहीले उक्त दर्ता फारम डाउनलोड गरी (फारम तथा सकल नागरिकता साथमा लिई) कार्यालयमा जानुपर्नेछ ।