जनकपुरधाम, २३ पुष । विगत साढे तीन महिनादेखि ठप्प रहेको मधेश प्रदेश सभाको बैठक आज बस्न लागेको छ ।

प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक मंगलबार दिउँसो १ बजे बस्ने लागेको हो ।

मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजका लागि प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेकी छन् ।

मधेश प्रदेश सरकार (मन्त्रिपरिषद) को पुष १६ गतेको बैठकबाट मधेश प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्ने निर्णयनुसार सिफारिस भई आए अनुरुप प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज दिउँसो १ बजे मधेश प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेकी हुन् ।

प्रदेश सभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाका अनुसार बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको चौथो अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाउने छन् । त्यसपछि सभामुखले मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम बैठकको अध्ययक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले “मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने पनि कार्यसूची रहेको सचिव कोइरालाले जानकारी दिए ।

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा प्रदेश सभा सदस्यहरुले आजको बैठकमा शुभकामना मन्तव्य व्यक्त गर्नेछन् ।

विगत साढे तीन महिनादेखि ठप्प रहेको मधेश प्रदेश सभाको तेस्रो अधिवेशन गत ४ असोजमा अन्त्य भएको थियो ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा वैठक बसेको सभामुख रामचन्द्र मण्डलले बताए । कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संसोधनसहितका बिजनेस प्रदेश सभामा छन् ।