जनकपुरधाम, २२ पुष । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सहलेखापाल ब्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यसैगरी मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साह विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधामका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख एवम् कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको, नक्कली बिल भर्पाइका आधारमा भुक्तानी दिएको र स्पेसिफिकेशन अनुसारको सामान खरिद नगरेको आरोप लगाइएको छ ।

अख्तियारले १ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । अख्तियारले बिगो असुल गरी आरोपीसँग कैद र जरिवाना गर्न समेत माग गरेको छ ।