जनकपुरधाम, २२ पुष । मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरुबीच विमर्श र बैठकहरु सुरु भएका छन् ।

मधेशका शक्तिहरु बीच एकजूटताको भावना बढ्दै गएको यी बैठकहरुबाट हेर्न सकिन्छ । वर्तमान गठबन्धन मुख्यतः एमाले र काँग्रेसबाट संविधान संशोधनको चर्चाले मधेशका दलहरु झस्किएका छन् र संविधानको अग्रगामी संशोधनको माग केन्द्रमा राखेर आगाडि बढनेमा एकमत छन् ।

जनमत, जनता प्रगतिशील पार्टी र लोसपाले यी संवादलाई आगाडि बढाउन आ–आफ्नो कार्यदल गठन गरिसकेको छ । तमलोपाले यस प्रयोजनको लागि गत वर्ष साउन २४ गते अन्तर पार्टी संवाद र विचार मिल्ने पार्टीहरुसंग सहकार्यको वातावरण बनाउन कार्यदल गठन गरिसकेको हो ।

तमलोपाका प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले तमलोपाको वरिष्ठ नेता डा. विजय कुमार सिंहको संयोजकत्वमा गठन भएको रविशंकर लाल कर्ण(सुभाष) तथा बिभा ठाकुर रहेको सो कार्यदल नै संवाद र सहकार्यको निमित्त हुने विमर्शमा पार्टीको प्रतिनिधित्व गर्ने बताएका छन् ।

तमलोपा, जनता प्रगतिशील पार्टी र जनमतको बीचमा सहकार्य गर्ने सहमति रहेको र हाल तमलोपा, मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सद्भावना पार्टी, जन अधिकार पार्टी तथा एकीकृत समाजवादी पार्टीका जनकपुरधामका नेताहरु सम्मिलित संयुक्त मधेश संघर्ष समिति गठन गरी संविधान संशोधनको नाममा समानुपातिक प्रतिनिधित्व हटाउने, थ्रेस होल्ड बढाउने, राष्ट्रियसभाको स्वरुप बदल्ने षडयन्त्र भइरहेकोमा धनुषा, महोत्तरी, सिरहामा खबरदारी सभाहरु गरेको र अन्य जिल्लाहरुमा समेत यस्तै खबरदारीसभाहरु आयोजित गर्ने तयारी भइरहेको मण्डलले बताए ।