जनकपुरधाम, २१ पुष । पूर्वउपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानमा संशोधनको आवश्यकता रहेको बताएका छन् ।

आइतबार जनकपुरधाममा नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशनको समुद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेता निधिले वर्तमान संविधानका कतिपय विषयहरुमा संशोधनको आवश्यकता रहेको बताएका हुन् ।

उनले भने, ‘कुन विषयमा संविधानमा संशोधन गर्ने त्यसको लागि दलभित्र पनि अग्रसरता लिनुपर्दछ । संविधानको प्रयोग पछि समिक्षा गरेर कुन धारामा कस्तो संशोधन गर्नुपर्छ त्यसको पहिचान गरी पार्टीभित्र पनि छलफल आवश्यक देखिन्छ । अन्य दललगायत नागरिक समाजसँग पनि छलफल गरेर संविधान संशोधनको अभियानलाई अगाडि बढाउनु अपरिहार्य छ ।’

उनले कांग्रेसकै अग्रसरतामा संविधानको कार्यान्वयन हुनुपर्ने समेत बताए । संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि सातवटै प्रदेशमा प्रहरी संगठन र निजामति कर्मचारी संरचना प्रदेशको आफ्नै हुनुपर्ने उनको भनाइ थियो ।

‘सबै प्रदेशको आफ्नै प्रहरी संगठन र निजामति कर्मचारी संरचना भएन भने यसलाई संघीय सिद्धान्त अनुसारको प्रणाली छ भन्न मिल्दैन,’निधिले भने ।

संविधानका लागि सङ्घीय संरचनाअनुसार सबै प्रदेशले प्रदेश प्रहरीको व्यवस्था गर्न पाउनुपर्ने उल्लेख गर्दै संविधानको दिगोपनका लागि आवश्यकताअनुसार परिमार्जन तथा संशोधन गर्दै जानुपर्नेमासमेत उनले जोड दिए ।

‘सङ्घीयतालाई दिगो र सबल बनाउन केन्द्रीय मानसिकता हटाएर संविधानको अनुसूचीअनुसार प्रदेश र स्थानीय तहले आफ्नो अधिकारको प्रयोग गर्न पाउनु पर्छ, सातै प्रदेशमा सङ्घीय संरचना अनुसार प्रदेशले प्रदेश प्रहरी तत्काल राख्न पाउनु पर्छ,’ उनले भने ।

नेता निधिले नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको संयूक्त सरकार लामो समयसम्म चल्ने दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने पालो आउन बाँकी रहेको र देउवाको पालोसम्म जसरी पनि सरकार चलाउनु पर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामीलाई चित्त दुखेपनि सरकार विथोल्नु हुँदैन । राम्रो काम भएपनि/नभएपनि, मन परेपनि/नपरेपनि वर्तमान सरकार टिक्न जरुरी छ ।’

संविधानसभाबाट जारी नेपालको संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै उनले वर्तमान संविधानका ९ वटा आधारभूत तत्वहरु राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्ति विशेषतामा गर्व गर्नुपर्ने बताए । उनले यी सबै संविधान निर्माणका मौलिक आधारहरु रहेको धारणा राखे । यसको बारेमा अध्ययन आवश्यक रहेको उनले बताए ।

अर्को प्रसंगमा बोल्दै उनले भने, ‘नेपाली जनताले आन्दोलन गरेर आजसम्म जे अधिकार प्राप्त गरेका छन् त्यसमा प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका छ । राणा शासनलाई समाप्त पारेर संवैधानिक राजतन्त्र र संसदीय प्रणाली ल्याइएको थियो । त्यसपछि नेपालमा फेरि निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन गरेर बहुदलीय प्रणाली आयो । फेरि माओवादीको द्वन्द्वलाई समाधान गरेर माओवादीहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याएर, राजाको अधिनायकवादी कदमको विरुद्धमा आन्दोलन गरेर नेपालमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्यायौं । संविधान सभाबाट हामीले संविधान जारी गर्यौं । नेपालको इतिहासमा पहिलो पटक जनताले आफैंले बनाएको आफ्नो संविधान जारी भयो । यी सबै परिवर्तनहरुमा प्रजातन्त्र सेनानीहरुको सक्रिय, सजग, दुरदर्शी र नेतृत्वदायी भूमिका रहेको छ । प्रजातन्त्र सेनानीहरुको सक्रिय भूमिकाबिना नेपालमा परिवर्तन सम्भव हुने थिएन ।’

उनले प्रजातन्त्र सेनानीहरु क्रान्तिकारी, आन्दोलनकारी र संघर्षशील हुने गरेको तथा परिवर्तनको पक्षमा काम गरिरहेको दाबी गर्दै सजीव र सक्रिय राजनीतिको सिर्जना गरेकोमा धन्यवाद व्यक्त गरे ।

नेपाल सरकारको तर्फबाट प्रजातन्त्र सेनानीहरुको पक्षमा एउटा आयोग गठन हुनुपर्दछ भन्ने मागप्रति आफ्नो पूर्ण समर्थन रहेको बताउँदै नेता निधिले आफ्नो राजनीतिकपूर्वजहरुको इतिहासको बारेमा नयाँ पुस्ताहरुलाई सिकाउन प्रजातन्त्र सेनानीहरुसँग आग्रह गरे ।

‘पूरानो पुस्ताको बारेमा थोरैपनि जानकारी राख्न सक्यौं भने आफ्नो भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौं । भुवनेश्वर महासेठ, सोनेलाल पासवान जस्ता दलीतका नेताहरुबारे कतै कुनै चर्चा छैन् । अभिलेख नराख्नु भनेको इतिहासलाई बिर्से सरह हुन्छ । भावी पुस्तालाई पूर्वजहरुको इतिहास हस्तान्तरण नगरिए प्रजातन्त्र सेनानीहरुको उपलब्धी बारे कसैले कुनै चासो र चिन्ता व्यक्त गर्दैन,’ निधिले भने ।