जनकपुरधाम, २१ पुष । आफूलाई घरमा रिसिभ गर्न नआएको भन्दै सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् ।

कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले आइतबार आफ्नै पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कारपियो तोडफोड गरेकी हुन् ।

उपाध्यक्ष सिंहले पालिकाको सो गाडीलाई इँटा र ढुङ्गाले हानेर झ्याल तथा ढोकाको सिसा फुटाउनुका साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन् ।

अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक कर्मचारीले बताए । आज पनि उपाध्यक्षले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले भने उपाध्यक्षले ९ बजे नै गाडी बोलाएको र चालक जान ढिला हुँदा गाडी रोकिएकै ठाउँमा आएर तोडफोड गरेको बताए । उपाध्यक्षलाई सुविधा दिँदै आएपनि बखेडा मात्रै झिक्ने काम भएको उनको भनाइ छ । आफूले उनलाई गाडी दिन आनाकानी गरेको विषय साँचो नभएको उनको दाबी छ ।

यस विषयमा उपाध्यक्ष सिंहले आफूलाई दाउरा वितरण गरेको ठाउँको अवलोकन गर्नुपर्ने भएकोले गाडी पठाइदिनका लागि बिहान १० बजेनै अध्यक्षलाई फोन गरेको बताइन् । उनले पटक पटक फोन गरेपनि गाडी नपठाएको र आफूलाई अर्को गाडी चढेर आउनुपरेको झोंकमा सो गाडीमा तोडफोड गरेको स्वीकार गरिन् ।

उपाध्यक्ष सिंहले भनिन्, ‘मलाई कार्यालयबाट टाढा गौरीपूर गाउँबाट दैनिक आवतजावत गर्नुपर्छ । अध्यक्ष आफू भने क्वाटर लिएर कार्यालय नजिकै बस्छन् । तर, गाडीको काम पर्दा मलाई आजसम्म कहिल्यै उपलब्ध गराएका छैनन् । आज रिसमा आएर गाडी तोडेकी हुँ ।’