काठमाडौं, २१ पुष । सिन्धुलीमा छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै माइला छोरा ४९ वर्षीय लिलाबहादुरको हत्या गरेको आरोप छ ।

डोमान सिंहले घरायसी विवादको क्रममा गोली प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले बुबालाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।