सर्लाहीमा मापसे चेकजाँचको क्रममा स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाम, २१ पुष । सर्लाहीको रामनगर गाउँपालिकामा मापसे चेकजाँचको क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । सो क्रममा प्रहरीमाथि आक्रमण गरेपछि पाँच राउण्ड हवाई फायर गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुवास बोहराले जानकारी दिए ।
प्रवक्ता बोहराका अनुसार शनिबार राति करिब ९ बजेतिर रामनगर गाउँपालिका–५ स्थित बैजनाथचोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमाण्डमा मापसे चेकिङ भइरहेको बेलामा मापसे गरेका केही युवाहरुको समूह परेका थिए ।
त्यही विषयमा अवरोध खडा गर्न वडा नम्बर–५ का वडाध्यक्ष श्रीनन्दन रायको नेतृत्वमा करिब डेढसय जनाको समूह आएर प्रहरीमाथि ढुंगाले आक्रमण गराएको प्रहरीको दावी छ ।
त्यसक्रममा प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउको फुटेर घाइते भएपछि सर्लाहीका डिएसपीको कमाण्डमा थप प्रहरी टोली पुगेर अवस्था नियन्त्रणमा लिन थ्रीनट थ्री राफइलबाट पाँच राउण्ड गोली हवाई फायर गरेको प्रवक्ता बोहराले बताए ।
घाइते रायको टाउकोमा पाँचवटा टाँका लागेको छ । उनको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


