जनकपुरधाम, २० पुष ।  पूर्वउपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले देशको सबैभन्दा ठूलो रोजगारदाता क्षेत्रको रूपमा रहेको यातायात क्षेत्रको योगदानको चर्चा गरेका छन् ।

शनिबार माँ जानकी जनकपुरधाम यातायात प्रालिको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यातायात क्षेत्रका मजदुरहरूको हक र अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

विगतमा आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा कार्य गर्दैगर्दा विभिन्न उल्लेखनीय योगदान र यातायात सुधारका महत्वपूर्ण निर्णयहरू गरेको स्मरण गर्दै उनले आफ्नो कार्यकालमा यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका निर्णयहरूले आजको यातायात प्रणालीलाई सबल बनाएको उल्लेख गरेका छन् ।

नेता निधिले यातायात मजदुरहरूको हकहितका लागि देशको आर्थिक समृद्धिमा यातायात क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई अझ प्रभावकारी बनाउन सबै पक्षलाई एकजुट भएर काम गर्न आह्वानसमेत गरे ।

उनले जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको बसपार्क निर्माणका लागि पनि हरसम्भव सहयोग र प्रयार जारी राख्ने प्रतिबद्धतासमेत जनाएका थिए । देशको समृद्धिको यात्रामा बस व्यवसायीको ठूलो योगदान रहेको उनले बताए ।

माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।