जनकपुरधाम, २० पुष । जनकपुरधाम उपमहानगरपालिकामा करोडौंको घोटाला भएको देखिएको छ । नगरप्रमुख मनोज कुमार साहलगायतकाहरुले करोडौंको अनियमितता गरेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षणमा उल्लेख छ ।

उपमहानपालिकाको लेखापरीक्षणबाट २५ करोड ६९ लाख १० हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा ७ लाख १२ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने ४ करोड ६० लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५ करोड ७५ लाख २५ हजार, नियमित गर्नुपर्ने १३ करोड ८५ लाख ६५ हजार र पेश्की बाँकी १ करोड ३१ लाख ४४ हजार समेत २५ करोड ६१ लाख ९८ हजार रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको गत वर्षसम्म ७१ करोड ४६ लाख ३५ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू ९७ करोड ८ लाख ३३ हजार रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले कुल आन्तरिक राजस्व १२ करोड ५४ लाख ६१ हजार १५१, राजस्व बाँडफाँड अन्य आय (जनसहभागिता तथा श्रमदान ) र अनुदानबाट १ अर्व २४ करोड ७ लाख १० हजार ८७ समेत १ अर्ब ३६ करोड ६१ लाख ७१ हजार २३८ आम्दानी भएकोमा चालुतर्फ ९५ करोड ३९ लाख ४९ हजार ३८५ र पूँजिगत तर्फ ५८ करोड ६४ लाख ६३ हजार ४९१ समेत १ अर्ब ५४ करोड ४ लाख १२ हजार ८७६ रुपैयाँ खर्च गरेको छ । खर्च मध्ये आन्तरिक राजस्वको हिस्सा ८. १४ प्रतिशत रहेको छ ।

पदाधिकारी सुविधामा ३ करोड २१ लाख ५३ हजार खर्च भएको छ जुन आन्तरिक राजस्वको २५.६२ प्रतिशत रहेको छ । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६९.८२ प्रतिशत चालु र ४२.९२ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यस उपमहानगरले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्युन खर्च गरी प्रशासनिक कार्यमा बढि खर्च गरेको देखिएको छ ।

घोटालाका नमूनाहरु तल पढनुहोस् :

यस उपमहानगरपालिकाले जेसिबी, दमकल, ट्र्याक्टर, ट्रिपर, एम्बुलेन्स सहित उक्त यन्त्र उपकरण संचालनका लागि यसवर्ष इन्धनमा १ करोड ९ लाख ७१ हजार ६६० र मर्मतमा ५३ लाख १ हजार ५६८ रुपैयाँ खर्च गरेको छ । तर उक्त यन्त्र उपकरण संचालन बापतको आय लेखापरीक्षणको क्रममा पेश भएको छैन । यस सम्बन्धमा पालिकाले उल्लेखित उपकरणहरु भाडामा दिने नगरेको पालिकाको काममा नै प्रयोग गर्ने गरेको जनाएको छ ।

उपकरण पालिका आफैले तथा भाडामा संचालन सम्बन्धी कुनै कार्यविधी तयार गरेको छैन भने पालिकाले आफ्नो कार्यमा जेसिबी, ट्र्याक्टर र ट्रिपर प्रयोग गर्ने गरेको उल्लेख गरेकोमा उक्त उपकरणहरु प्रयोग गरी सम्पन्न गरेको कार्यको प्राविधिक पुष्ट्याई सहितको कार्यको परिमाण खुल्ने अभिलेख राखेको छैन जसबाट उपकरणहरुको संचालन खर्चको सम्बन्धमा विश्लेषण गर्न नसकिएको महालेखाले जनाएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ९१ बमोजिम स्थानीय तहले स्थानीय सेवाको दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाइपाई आएको मासिक तलवबाट १० प्रतिशत रकम कट्टा गरी सो रकमबराबरले हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने व्यवस्था छ । यस उपमहानगरले कर्मचारी कल्याण कोषबाट ८ जना कर्मचारीहरुलाई अवकाश भए वापत ३ करोड ८० लाख ९२ हजार ७९७ रुपैयाँ भुक्तानी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले यसवर्ष कार्यालय प्रयोजनको लागि सवारी साधन भाडामा लिई ७ लाख ८३ हजार ७६६ रुपैयाँ पानामै खर्च लेखेको छ । उपर्युक्त व्यवस्था अनुरुप भाडाको लागत अनुमान तयारी गरी प्रतिस्पर्धात्मक तरिकाले खरिद नगरी व्यक्ति तथा संस्थासँग सोझै सम्झौता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस उपमहानगरपालिकाले २०८० असार ११ गते सार्वजनिक डाटा ट्रान्सफरको लागि इन्टरनेट र आन्तरिक डाटा ट्रान्सफरको लागि इन्ट्रानेट जडान कार्यको लागि ३ वटा कम्पनीबाट दरभाउपत्र माग गरी न्यूनतम देखिएको भाइनेट कम्यूनिकेशन लिमिटेडको दरभाउपत्र स्वीकृत गरेको र असार १९ मा २५ वटा वडा तथा अतिथि गृहमा गरी २६ स्थानमा इन्टरनेट र इन्ट्रानेट जडान गर्ने गरी सम्झौता भएकोमा आपूर्तिकर्ताले असार २४ गते कार्यसम्पन्न भएको भनी भुक्तानीको लागि निवेदन पेश गरी ४ लाख ३२ हजार १४० रुपैयाँ भुक्तानी लिएको देखिन्छ । यसरी सम्पन्न भएको कार्य स्पेशिफिकेशन र गुणस्तर बमोजिम भएर नभएको सम्बन्धमा कार्यालयबाट अनुगमन गरी सो प्रतिवेदन पेश गर्नुपर्नेमा सो बमोजिम गरेको नदेखिदा अनुगमन गरी सम्झौता अनुसार कार्य सुचारु भएको प्रतिवेदन पेश गर्नुपर्ने महालेखाको ठहर छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११५ अनुसार सार्वजनिक निकायले आपूर्ति गरिएका मालसामान सम्झौतामा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र गुणस्तर बमोजिम भए नभएको निरीक्षण र परीक्षण गराउनुपर्ने व्यवस्था छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ वमोजिम सरकारी जिन्सी मालसामान हानी नोक्सानी नहुने गरि संरक्षण गर्ने र तिनीहरुको राम्रो सम्भार गरी वा चालु अवस्थामा राख्ने उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने उल्लेख छ । मर्मत खर्च लेखेका सामानहरुमा डेक्सटप, कम्प्युटर, ल्यापटप, प्रिन्टर, चार्जर, माउसका साथै मेशीनरी औजार र सवारी साधनहरु रहेका छन् । कार्यालयले सवारी साधन तथा औजार सामाग्री मर्मतको स्थायी अभिलेख र लगसिट तयार नगरेको एवंम् व्यक्तिको नाममा समेत मर्मत तथा सम्भार बापत भुक्तानी दिएको हुँदा मर्मत खर्च यथार्थ हो भन्नेमा विश्वत हुन नसकिएको प्रतिवेदनमा भनिएको छ ।

मेशिन औजार मर्मतको अभिलेख खाता नराख्दा गत आर्थिक वर्षमा भएको खर्चसंग तुलना गरी भिडाउने आधार नदेखिएको उल्लेख छ । सोही वमोजिम कार्यालयमा रहेको चल्ती जिन्सी मालसामान मर्मत गर्नुपर्ने भएमा कार्यालय प्रमुखबाट मर्मत आदेश स्वीकृत गराई मर्मत गराई खर्च लेख्ने र सोको मर्मत अभिलेख तयार गरी राख्नुपर्नेमा यस उपमहानगरपालिकाले मर्मत खर्च भुक्तानी गर्दा मलेफानं ४१५ तयार नगरी सवारी साधन, मेशिनरी औजार मर्मत तथा सम्भार खर्च ९१ लाख ४३ हजार ४४३ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ (१क) मा ५ लाख रुपैंयासम्मको निर्माण कार्य, मालसमान र परामर्श सेवा सोझै खरिद गर्न सकिने व्यवस्था छ । त्यस्तै नियम ८५ अनुसार एक आर्थिक वर्षमा एकै फर्म वा व्यवसायी वा संस्थाबाट ५ लाख भन्दा बढीको सामान सोझै खरिद गर्न नहुने व्यवस्था छ । तर यस उपमहानगरपालिकाले यसबर्ष पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशनमा सोझै खरिद मार्फत २७ लाख ८६ हजार ३२६ रुपैयाँ खर्च गरेको छ । पालिकाले भुक्तानी दिएका अधिकांश पत्रपत्रिकाले सूचना प्रकाशनको स्पेशिफिकेशन नखुलाई एकमुष्ट बील जारी गरी भुक्तानी लिएको उल्लेख छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ (५) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण र कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । जनकपुरधाम उपमहानगरपालिकाले यसवर्ष नगरस्तरीय विविध खर्च अन्तर्गत उपप्रमुखको सचिवालय २ लाख ७७ हजार ३७०, अतिथीहरुको लागि स्वागत सामाग्री खरिद १० लाख, होली महोत्सवमा २ लाख ७० हजार ७६०, विजयादशमी, शुभ दिपावली तथा छठ पुजाको लागि ५ लाख, अतिथीहरुको होटल बास खर्च ४ लाख ५ हजार ३८५, नगर प्रमुखको सचिवालयमा ६ लाख ८१ हजार ९७२, विविध खर्च ६५ लाख ८६ हजार ९३४, गत आर्थिक वर्षको भुक्तानी हुन बाकी विविध खर्च ५ लाख ३५ हजार तथा वडा कार्यालयहरु तर्फ ४४ लाख ४६ हजार गरी जम्मा १ करोड ४७ लाख ३ हजार ४२१ रुपैयाँ खर्च गरेको छ ।

उपमहानगरले यसरी खर्च लेख्दा खर्च गरेको रकमको विल र भुक्तानी पाउनेको निवेदन पेश गरेतापनि खर्च गर्नुपर्ने आधार स्पष्ट गर्ने गरेको देखिएन अर्थात गोश्वरा भौचर साथ बिल मात्र राखि बिलकै आधारमा भुक्तानी गरेको छ । विविध खर्च बापतको यस्तो रकम खाजा नास्ता तथा अतिथि सत्कार र पुजा पाठ जस्ता विविध शिर्षकमा खर्च गरेको छ । विविध शिर्षकबाट खर्च गर्न सकिने हो क्रियाकलापहरुको योजना, लागत अनुमान, टिप्पणी अनुमोदन गरी कार्यक्रममा भएको खर्च, होटल बास, अतिथि सत्कार जस्ता कार्यक्रममा कहाँ, कसलाई कहिले, के कति खर्च गरेको सोको स्पष्ट आधारको रुपमा प्रमाण स्वीकृत गरी खर्च लेख्नुपर्ने महालेखाले जनाएको छ ।

स्थानिय सरकार सञ्चालन ऐन, २०७४ मा उपमहानगरपालिकाको काम, कर्तव्य र अधिकारमा नगर भित्रको फोहोर मैला व्यवस्थापन समेत रहेको छ । यस उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापनको लागी दिर्घकालिन ल्याण्डफिल्ड साइटको खोजी गर्नुपर्नेमा सो नगरी विभिन्न जग्गाधनीहरुको जग्गा भाडामा लिइ निजहरुको जग्गामा फोहोर विसर्जन गर्ने गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ फोहोर विसर्जन वापत जग्गा भाडामा लिइ यसवर्ष ७ लाख ७७ हजार ५ सय रुपैयाँ भाडा खर्च लेखेको छ ।

स्थानिय तहको पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धि ऐन, २०७७ र स्थानिय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानिय तहका पदाधिकारीहरुले नीजि सचिव तथा कानुनी सल्लाहकार राख्न पाउने व्यवस्था छैन । तर उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव तथा कानुनी सल्लाहकार नियुक्त गरि १४ लाख ५ हजार ७५८ रुपैयाँ पारिश्रमिक भुक्तानी दिएकोले असूल उपर गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७६ को नियम ३९ (५) अनुसार सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने बील भर्पाइ प्रमाण र कागजात संलग्न हुनु पर्दछ । जनकपुरधाम उपमहानगरपालिकाले विविध खर्च शिर्षकबाट अतिथी सत्कारको लागि प्रयुष जेनरल अर्डर सप्लायर्ससँग प्रतिपिस ३५९ रुपैयाँमा २ हजार ५०० थान केसरीया रंगको गम्छा खरिद गरी ८ लाख ९८ हजार ३५० रुपैयाँ भुक्तानी दिएको छ । स्रेस्ता परीक्षणको क्रममाः जिन्सी निरिक्षण गर्दा उक्त सामान भण्डारमा नरहेको साथै त्यसको वितरणको भरपाई समेत नभएकोले गम्छा खरिद भएकोमा आश्वस्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

पालिका पदाधिकारीहरुको सेवा, सुविधा सम्बन्धमा सम्बन्धित प्रदेश सभाले बनाएको कानुन बमोजिम हुने व्यवस्था रहेको छ । सो अनुसार मधेश प्रदेश सभाले बनाएको ऐन, सुविधा सम्बन्धी कानुनमा नगरपालिकाका पदाधिकारी तथा कर्मचारीलाई मोबाइल उपलब्ध गराउने व्यवस्था रहेको देखिएन । साथै नगर कार्यपालिकाले समेत पदाधिकारी तथा कर्मचारीहरूको यस्तो सुविधा सम्बन्धी मापदण्ड र निर्णय गरेको छैन । उपमहानगरपालिकाको जिन्सि शाखाले उपलब्ध गराएको विवरण अनुसार पालिकाले ५ थान मोबाईल खरिद गरी पदाधिकारी तथा कर्मचारीहरुलाई उपलब्ध गराएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले सवारीसाधन र अन्य पदाधिकारीहरुले यातायात सुविधा बापतको रकम लिएका छन् । स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७ अनुसार उपमहानगरपालिमा प्रमुख तथा उपप्रमखुले मासिक १५० लिटर इन्धन र चौमासिक १० लिटर मोबिल पाउने व्यवस्था रहेको छ । उक्त ऐन अनुसार प्रमुख तथा उपप्रमुखले वार्षिक ३ हजार ६०० लिटर इन्धन र ६० लिटर मोबिल खर्च गर्न पाउने देखिन्छ । उपमहानगरपालिकाले इन्धन पदाधिकारीमा वार्षिक ९ लाख ६१ हजार ५९८ रुपैयाँ खर्च गरेको छ । प्रमुख र उपप्रमुखले इन्धन बापत पाउने सुविधा भन्दा बढी हुने गरी खर्च लेखेकोले उक्त रकम असूल उपर गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले इन्धन खर्च सरसफाइ तथा कार्यालय प्रयोजनका लागि १ करोड ५८ लाख ५७ हजार ७५३ रुपैयाँ खर्च गरेको छ । यसरी खर्च गर्दा सवारी प्रयोगकर्ताको गन्तब्य स्थान, दुरी, समय र इन्धन खपत बीच सामजस्यता हुने गरी व्यवस्थित तवरले सवारी लगबुक राख्नुपर्नेमा लगबुक नराखेको महालेखाको ठहर छ । साथै उपमहानगरपालिकाले जेसिबीको वार्षिक इन्धन खपत १२ हजार ६०५ लिटर, ट्रिपरको १८ हजार २३५ लिटर र ट्र्याक्टरको २३ हजार ३१० लिटर रहेकोमा जेसीबी, ट्र्याक्टर र ट्रिपरले सरसफाइको मात्रै नगरी अन्यत्र विशेष कार्य र योजनामा समेत खटाएको जवाफ प्राप्त भएको महालेखाले जनाएको छ । दैनिक सरसफाई बाहेक जेसीबी र ट्रिपर कहाँ कुन कार्यमा खटेको हो, त्यसको पूर्वस्वीकृती र कार्य सम्पन्न भएको प्रतिवेदन पेश नभएको उल्लेख छ । महालेखाले यसरी अप्रमाणित रुपमा अस्वभाविक तवरले जेसीबी र ट्रिपरको इन्धन खर्च लेखेको रकमको प्रमाण, पुष्ट्याई गरी नियमित गर्न सुझाव दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले यसवर्ष विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई तोक आदेशका आधारमा पनि २६ लाख ८८ हजार ९८८ रुपैयाँको इन्धन वितरण गरेको छ । सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी बजेटलाइ उत्पादन र रोजगारमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा कार्यालयको प्रयोजनको लागि विनियोजन भएको इन्धनबाट विभिन्न व्यक्ति तथा संघ संस्थालाई इन्धन उपलब्ध गराएकोले कार्यालय बाहिर उपलब्ध गराएको १३ हजार ५०६ लिटर डिजल र २ हजार १४ लिटर पेट्रोल प्रयोगको आधार र प्रमाण पेश गर्न निर्देशनसमेत दिइएको छ ।

उपमहानगरपालिकाले नगरस्तरीय विविध खर्च अन्तर्गत उपप्रमुखको सचिवालय २ लाख ७७ हजार ३७०, अतिथीहरुको लागि स्वागत सामग्री खरिद १० लाख, होली महोत्सव २ लाख ७० हजार ७६०, विजयादशमी, शुभ दिपावली तथा छठ पुजाको लागि ५ लाख, अतिथीहरुको होटल बास खर्च ४ लाख ५ हजार ३८५, नगर प्रमुखको सचिवालय ६ लाख ८१ हजार ९७२, विविध खर्च ६५ लाख ८६ हजार ९३४, गत आवको भुक्तानी हुन बाँकी विविध खर्च ५ लाख ३५ हजार तथा वडा कार्यालयहरु तर्फ ४४ लाख ४६ हजार गरी जम्मा १ करोड ४७ लाख ३ हजार ४२१ रुपैयाँ खर्च गरेको छ ।