जनकपुरधाम, २० पुष । पटक पटक कुनै न कुनै रुपले विवादित रहँदै आएको धनुषाको नगराइन नगरपालिकामा गत आर्थिक वर्षमा कदम कदममा भ्रष्टाचार भएको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार यस पालिकामा भएको कामहरुमा असंख्य भ्रष्टाचार भएको देखिएको हो ।

यस पालिकामा लेखापरीक्षणबाट ३ करोड ७४ लाख ८ हजार रुपैयाँ बेरुजू देखिएको छ । सो सम्बन्धमा पालिकाबाट प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजु असुल गर्नुपर्ने ५८ लाख २२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २७ लाख ८६ हजार र नियमित गर्नुपर्ने ८८ लाख समेत गरी ३ करोड ७४ लाख ८ हजार बेरुजू कायम रहेको छ ।

नगराइन नगरपालिकाको गत वर्षसम्म ९ करोड २९ लाख २५ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू १३ करोड ३ लाख ३३ हजार रहेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १९ बमोजिम केन्द्रिकृत सूचना प्रणालीमा लाभग्राहीको प्रविष्टी गरि अधावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पाउने सम्वन्धित स्थानीय निकायको हुने व्यवस्था छ ।

यस नगरपालिकामा चारवटै त्रैमासिकमा एउटै नागरिकता नम्बरबाट फरक फरक नाम भएका व्यक्तिलाई भत्ता भुक्तानी भएको छ ।लेखापरीक्षणको क्रममा कार्यालयले उपलब्ध गराएको रिभर्सफिडका आधारमा नमुनाको रुपमा वडा नं ६ को सामाजिक सुरक्षा भत्ता वितरणको विवरण परीक्षण गर्दा लाभग्राहीलाई १ लाख ५१ हजार १५२ रुपैयाँ दोहोरो भत्ता भुक्तानी गरेको देखिएको छ ।

नगराइन नगरपालिकामा मृत्यु पश्चातको समेत भत्ता वितरण गरिएको पाइएको छ । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ बमोजिम दफा १६(ख) बमोजिम भत्ता खाईपाई आएको कुनै व्यक्तिको मृत्यु भएमा भत्ता मृतकको नजिकको हकवालालाई भुक्तानी दिने व्यवस्था छ । लेखापरीक्षण योजनानुसार नगरपालिकाको ३ वटा (वडा नं.९, ५ र ७) श्रेस्ता परीक्षणमा वडाको सामाजिक सुरक्षा भत्ता वितरणमा लाभग्राहीको मृत्यु पश्चात पाउनु पर्ने अवधिको रकम भन्दा बढि रकम गएको देखिन्छ ।

यस पालिकाले पदाधिकारी तथा कर्मचारीको लागि १४ लाख २० हजार १३८ रुपैयाँ भ्रमण खर्च लेखेकोमा नियमावलीमा भएको व्यवस्था अनुरुप भ्रमण अभिलेख राखेको छैन भने अधिकांस कर्मचारी तथा पदाधिकारीले भ्रमण पश्चात भ्रमण प्रतिवेदन पेश गरेका छैनन् ।

भ्रमण खर्च नियमावली, २०६४ को नियम १६ (१) मा भ्रमणमा खटिने पदाधिकारीले दैनिक भत्ता तथा भ्रमण खर्चको बिलसँग भ्रमण प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था छ । त्यसैगरी सोही नियमावलीको नियम २१ मा भ्रमण खटिने कर्मचारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित कार्यालयले भ्रमण अभलेख राख्नु पर्ने व्यवस्था छ ।

पालिकाले विविध खर्च शीर्षकमा पनि ३८ लाख १५ हजार ६३ रुपैयाँ खर्च लेखेको छ । जसमध्ये खाना खाजा होटलवास आदिका लागि विभिन्न होटलाई १४ लाख ६० हजार ३५२ रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी सभा संचालन कार्यम १४ लाख ३ हार ७७६ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, उल्लेखित व्यवस्थाको पालना नगरी यस पालिकाले ३४ लाख ८१ हजार ७५० रुपैयाँ इन्धनमा खर्च गरेको छ । इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी स्पष्ट अभिलेख पनि राखेको छैन ।

जबकि नेपाल सरकार अर्थ मन्त्रालयद्वारा जारी सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु पर्ने साथै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था गरिएको छ ।

नगराइन नगरपालिकाले विभिन्न सूचना प्रकाशित गरी १२ लाख ५९ हजार ६१ रुपैयाँ भुक्तानी गरेको छ । सुचना छपाईको आदेश दिदाँ सूचनाको आकार सहितको आदेश दिनुपर्नेमा सुचनाको साइज नखुलाई आदेश दिने गरेकोले सूचना प्रकाशनमा मितव्ययिता अपनाएको पाइएको छैन् । स्थानीय सरकार संचालन ऐन, २०७४ ले प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, प्रभावकारीता, कार्य दक्षता र औचित्यतता समेतको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

यस पालिकाले गत वर्ष जेठ २७ गते एक दिनको पूर्ण खोप घोषणा कार्यक्रमको लागि ६ लाख ५३ हजार ९४४ रुपैयाँ खर्च गरेको पाइएको छ । उक्त कार्यक्रममा चिया खाजा नास्ताको लागि मात्र २ लाख ८४ हजार ८८३ र गाम्छा खरिदमा ८५ हजार ८८० रुपैयाँ खर्च गरेको छ ।

यसबाहेक पनि कदम कदममा विभिन्न शीर्षकहरुमा करोडौंको भ्रष्टाचार भएको देखिन्छ ।