जनकपुरधाम, १९ पुष । पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सञ्चारकर्मीहरुसँग संविधान संशोधनको पक्षमा कलम चलाउन आग्रह गरेका छन् ।

मधेश प्रदेशबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै प्रदेशको आफ्नै प्रहरी संगठन र निजामती कर्मचारी हुनुपर्ने र यसका लागि संविधान संशोधन आवश्यक रहेकोसमेत बताए ।संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नवनिर्वाचित पत्रकार महासंघको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

नेता निधिले लोकतान्त्रिक गणतन्त्र तथा संघीयतालाई मजबुत बनाउनका लागि संविधान संशोधन हुनुपर्ने आवश्यकता रहेको बताए । संघीयतालाई मजबुत बनाउन सबै प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।

संविधान संशोधन मार्फत मधेसका मुद्दाको सम्बोधन हुनेसमेत उनले बताए । उनले संविधानका केही बुँदालाई लिएर विद्यमान असहमति र विवादलाई संशोधनको माध्यमले सुल्झाउन सकिने बताउँदै संशोधनको पक्षमा नेकपा एमाले समेत सहमत हुने बताए । नेकपा एमालेले समेत संविधान परिवर्तनीय र संशोधनीय हुने कुरालाई स्वीकार गरिसकेकाले संशोधन प्रक्रियामा एमालेको समेत सहभागिता रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेश प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह र नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार सहितका नेताहरू सहभागी थिए ।