जनकपुरधाम, १८ पुष । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता कार्यान्वयनमा संघ सरकारले बेइमानी गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार साँझ टुडेआवाजसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले संघीयता कार्यान्वयमा संघ सरकार बाधक रहेको बताएका हुन् ।

उनले मनैदेखि संघीयतालाई स्वीकार नगर्ने राजनीतिक वृतको पनि वर्चश्व रहेको र त्यसको असहयोगका कारण यस्तो चुनौति खडा भएको दाबीसमेत गरे । संघ सरकार मानसिक रुपले इमान्दार नभएसम्म संघीयता कार्यान्वयनमा चुनौती देखिएको मुख्यमन्त्री सिंहले आशंका व्यक्त गरे ।

उनले सरकारभन्दा पनि दुई कदम अगाडि कर्मचारीहरु रहेको र त्यसमध्ये पनि अधिकांश बेइमान नै रहेको आरोपसमेत लगाए । मुख्यमन्त्री सिंहले कर्मचारीतन्त्रमा सबैभन्दा बढि सुधारको आवश्यकता रहेको बताए । उनले भने, ‘प्रदेशमा आएपछि संघीयता चाहिन्छ भन्ने कर्मचारी संघमा गएपछि संघीयताको विरोध गर्छन् । जबकि संघीयता भइसकेपछि दुनियाको कुनैपनि ताकतले यसलाई हटाउन सक्दैन । जबसम्म मधेस प्रदेशका जनता रहन्छन् तबसम्म संघीयता निश्चित रुपले कार्यान्वयन हुन्छ ।’

मुख्यमन्त्री सिंहले संघीयतालाई होल्ड गर्ने मुख्य कडी मधेश प्रदेश रहेको जिकिर गरेका छन् । उनले मधेश प्रदेशले नै अहिलेसम्म संघीयतालाई बचाएर राखेको दाीसमेत गरे ।

उनले भने, ‘मुख्य कुरा हाम्रो देशमा संघीयता कार्यान्वयन गर्ने क्रममा जनताले जुन अपेक्षा गरेका छन् । त्योअनुसार अगाडि बढ्नका लागि पनि हामीले काम गर्नुपर्ने भएको हुनाले छिटो काम हुनुपर्छ भन्ने जनताको माग छ । छिटो सर्भिस दिनुपर्छ र छिटो कानुन बन्नुपर्छ भन्ने जनताको माग छ । त्यो अनुसार जाने नै मुख्य कुरा हो । अहिलेसम्मको कार्यकाललाई सकरात्मक रूपमा लिएको छु । संघीयतालाई सफल पार्नका लागि केन्द्र सरकारले बनाउनुपर्ने कानुन नियम जुन छन्, ती छिटो बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

‘स्थानीय तहमा प्रदेश लोकसेवाबाट कर्मचारी नियुक्ति गरेर पठाउने तर त्यो कर्मचारी एउटै पालिकामा पूरा अवधिभर काम गर्छ भने काम हुँदैन । त्यो कर्मचारीको सरुवाको पनि व्यवस्थापन हुनुपर्छ,’ उनले भने, ‘पाँच वर्षमा मेयर परिवर्तन हुन्छ तर कर्मचारी त्यहाँ गएपछि ५८ वर्ष उमेरसम्म त्यहि बस्छ । यस्तो अवस्थामा त्यो कर्मचारीले भोलिको दिनमा मेयरलाई पनि टेर्दैन ।’

मुख्यमन्त्री सिंहले स्थानीय तहमा पनि कर्मचारीको सरुवा बढुवा प्रदेश सरकारले गर्न पाउनु पर्ने माग गरेका छन् । प्रदेश सरकारको मातहतमा कर्मचारी रहँदा भोलिको दिनमा नगरप्रमुखहरुलाई पनि काम गर्न सजिलो हुने उनको विश्वास छ ।

उनले भने, ‘संघबाट कर्मचारी सरुवा भएर आउँदा मेयरलाई बढि दौडधूप गर्नुपर्छ । पैसा खुवाएर सरुवा गराउने प्रवृति बढेकोले कर्मचारीले मेयरको कुरालाई पनि मान्यता दिंदैनन् ।’