जनकपुरधाम, १८ पुष । धनुषाबाट वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या निरन्तर बढिरहेको छ ।

चालू आर्थिक वर्षको ५ महिना (साउन देखि मंसिर)सम्ममा धनुषाबाट मात्रै १७ हजार ३७३ जना वैदेशिक रोजगारीमा विभिन्न खाडी मुलुक पुगेका छन् । जसमध्ये १६६ जना महिला रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनाएको छ ।

सामी कार्यक्रम धनुषाका कार्यक्रम संयोजक सौरभ कर्णले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आर्थिक वर्ष ०८१/८२ को साउन महिनामा ३ हजार ११६ पुरुष र २७ महिलासहित कूल ३ हजार १४३ जना, भदौमा ३ हजार ३२९ पुष र ३१ महिलासहित कूल ३ हजार ३६० जना, असोजमा २ हजार ९१३ पुरुष र ३१ महिलासहित कूल २ हजार ९४४ जना, कार्तिकमा ३ हजार ५१३ पुरुष र ४० महिलासहित कूल ३ हजार ५५३ जना र मंसिरमा ४ हजार ३३६ पुरुष र ३७ महिलासहित कूल ४ हजार ३७३ जना युवायुवतीले विदेशमा आफ्नो पसिना बगाइरहेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न थालेसँगै रेमिट्यान्स आप्रवाह पनि बढिरहेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड, ०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड, आर्थिक वर्ष ०७८/७९ मा १० खर्ब ७ अर्ब ३१ करोड, ०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड र आर्थिक वर्ष ०८०/८१ मा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्सबापत नेपाल भित्रिएको तथ्यांक छ ।

यसअघि आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा गएकोमा धनुषाबाट सबभन्दा बढि २२ हजार १७५ पुरुष र १९ हजार ११८ महिला गरी कूल ४१ हजार २९३ जना रहेका थिए ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको तथ्यांक छ ।