पुष २३ गते मधेश प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

जनकपुरधाम, १७ पुष । मधेश प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन मंगलबार अपरान्ह १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
विगत साढे तीन महिनादेखि ठप्प रहेको मधेश प्रदेश सभाको तेस्रो अधिवेशन गत ४ असोजमा अन्त्य भएको थियो ।
जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेश सभाको बैठक नबोलाएर सरकारले संसदलाई बन्धक बनाएको आरोप लगाइरहेका बेला बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरिएको हो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा वैठक बसेको सभामुख रामचन्द्र मण्डलले बताए । कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संसोधनसहितका बिजनेस प्रदेश सभामा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


