जनकपुरधाम, १७ पुष । जनमत पार्टीले आज जनकपुरधामसहित सबै जिल्लामा धोती दिवस मनाएको छ । पुस १७ (जनवरी १) मा जनमतले धोती दिवस मनाउने निर्णय गरेको थियो ।

गत आइतबार बसेको पार्टीको सचिवालय बैठकले धोती दिवस मनाउने निर्णय भएअनुरुप आज धोती दिवस मनाइएको प्रवक्ता डा.शरदसिंह यादवले बताए ।

आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाउन जनमतले पार्टी पंक्तिमा निर्देशन दिएको थियो ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सहितका नेता कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् । उनीहरुले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी थिए ।

उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

आजै बसन्तपुर र पाटन दरबार क्षेत्रमा नेपाली टोपी दिवस मनाइएको छ । मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन सुरु गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष डा. राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताए । उनले धेरै भेसभुसा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे । उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए ।

राउतले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो आफ्नो पोसाक लगाइ पोसाक दिवस मनाउनुपर्ने बताए । उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए ।

उनले भने, ‘नेपाल विविधतापूर्ण देश हो । यहाँ अनेकौँ, जातजातिहरू, भाषाभाषीहरु, भेसभुसा भएका मानिसहरू छन् । हाम्रो लागि त्यो कमजोरी होइन । यो हाम्रो लागि सम्पत्ति हो । यो सबैलाई हामीले सम्मान गर्नुपर्छ । त्यही आशयले हामी आज राष्ट्रिय पोसाक दिवस मनाउँदै छौँ । नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्टा गरियो । लामै संघर्ष गर्यौं । त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ । त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ । आज कुनै एकल जातजातिको मात्रै भेसभुसा मनाउने दिवस होइन । सबैले आफ्नो मौलिक भेसभुसा लगाउने हो ।’

राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरू धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरूले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

धोती दिवस सबै जिल्लामा मनाइएको जनमतले जनाएको छ ।