परीक्षा बिग्रेको भन्दै बर्दिबासमा ३ जना छात्राले सँगै विष खाए, एकको मृत्यु

जनकपुरधाम, १७ पुष । महोत्तरीको बर्दिबासमा ३ जना छात्राले सँगै विष सेवन गरेका छन् । विष सेवन गरेर माइस्थान जङ्गलमा अचेत अवस्थामा भेटिएका ३ जना मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा रहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको मनरासिसवा नगरपालिका–२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिरहाको धनगढी नगरपालिका–११ घर भएकी १९ वर्षीय सञ्जु यादवको उपचार भइरहेको महोत्तरीका एसपी नुकल पोखरेलले बताए । उनीहरू बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जियोमेट्रिक इन्जिनियरिङको विद्यार्थी रहेको उनले जानकारी दिए ।
परीक्षा बिग्रेको भनेर उनीहरूले जङ्गलमा गएर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार गराइरहेका दुई जनाको अवस्था सुधार भएको छ ।
पुस १५ मा विदाको दिन उनीहरूले विष सेवन गरेका हुन् । जङ्गलमा अचेत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


