अंग्रेजी नयाँ वर्षका दिन धार्मिक नगरी जनकपुरधाम भरिभराउ

जनकपुरधाम, १७ पुष । अन्तर्राष्ट्रिय नयाँ वर्षका दिन धार्मिक नगरी जनकपुरधाम भरिभराउ भएको छ ।
प्राचन मिथिलाको राजधानी जनकपुरधाममा अहिले भारतीय नागरिक र गाडीले भरिएको छ । जानकी मन्दिर पुग्ने सडकभरि भारतीय नागरिक र भारतीय नम्बर प्लेटका गाडीको लर्को देखिएको छ ।
अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरधाममा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरु भरिएको छ ।
बुधबार बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको छ ।नगरभित्र भारतीय गाडिहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्याधिक रुपमा जनकपुरधाम आएका छन् ।
नेपालका साथै छिमेकी मुलुक भारतको राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, सिमला, उत्तराखण्डलगायत राज्यबाट हजाराँैको संख्यामा पर्यटकहरु जनकपुरधाम आउने गरेका छन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी मन्दिरमा यतिको संख्यामा पर्यटक आएको भन्दै खुशी व्यक्त गरेका छन् । ‘हामी अंग्रेजी नयाँ वर्ष त मनाउँदैनौं, हामी धार्मिक मान्छे छौँ, विक्रम संवत् नै मनाउँछौँ’, उनले भने, ‘तर नयाँ वर्ष जसको भएपनि श्रद्धाले पूजापाठ गरेर मनाउनु राम्रो हो ।’
उत्तराधिकारी महन्थ दासले नयाँ वर्षमा पहिले माछामासु र मदिरा खाएर मनाउने गरेपनि अहिले पूजापाठ गरेर मनाउन थाल्नु सकारात्मक भएको बताए ।
सिताको जन्मभूमि रहेको कारणले समेत धार्मिक पर्यटकहरु जनकपुरधाम अत्यधिक रुपमा आउने गरेका छन् । नयाँ वर्षमा अत्यधिक रुपमा पर्यटकहरु आएका कारणले यहाँको व्यापार व्यवसाय समेत राम्रै चलेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


