सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

सर्लाही, १७ पुष । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
मंगलबार राति करिब सवा ९ बजेको समयमा सर्लाहीको बलरा नगरपालिका–९ बिओपी छतौनाको कार्यालय अगाडी बा.प्र ०१९०६ ख २००४ नम्बरको बसको ठक्करबाट बिओपी छतौनामा कार्यरत ४२ वर्षीय प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार बसको ठक्करबाट घाइते भएका तुलाधरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई ठक्कर दिने बस, बसको चालक र सहचालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


