सुनसरी, १६ पुष । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको बम डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो ।

उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो ।

आज बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन ठाउँमा बम राखेको भन्दै म्यासेज आएको थियो । प्रहरीलाई आएको सूचनामा आजदेखि सशस्त्र संघर्ष सुरु भएको भनिएको छ ।

एक अपरिचित नम्बरबाट बम राखेको जानकारी आएको प्रहरी प्रमुख एसपी तिम्सिनाले बताए । उनले धरान, इटहरी र इटहरीको बुढीखोलाको पुलमा बम राखेको जानकारी भए बमोजिम खोजतलास गरिएको जानकारी दिए ।

कसले र कुन नियतमा बम राख्यो भन्ने अनुसन्धान भइरहेको बताउँदै उनले इटहरी बाहेक अन्यत्र जोखिम नरहेको बताए ।

इटहरीमा रहेको बम डिस्पोज भइसकेको हुँदा निर्धक्क हुन उनले आग्रह गरेका छन् ।