पत्रकार महासंघ मधेश प्रदेश समितिको पद हस्तान्तरण सम्पन्न

जनकपुरधाम, १५ पुष । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ । निवर्तमान बनेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
मंसिर २८ गते देशैभरमा पत्रकार महासंघको निर्वाचन भएको थियो । त्यसै अनुसार मधेश प्रदेशमा निर्वाचित नयाँ कार्यसमतिलाई निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार रामभरत साहले प्रमाणपत्र वितरण गरेका छन् ।
निर्वाचन समितिले श्याम बन्जाराको नेतृत्वमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै सम्पूर्ण पदाधिकारीलाई पद हस्तान्तरण गरेको हो ।
महासंघका अध्यक्ष राजेश कुमार कर्णले नवनिर्वाचित अध्यक्ष श्याम बन्जारालाई पद हस्तान्तरण गरे भने निर्वाचन समितिका संयोजक प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले प्रदेश समितिका नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पर्साका श्याम बन्जाराको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पत्रकारहरूको पेशागत सुरक्षाका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।
उनले मधेश प्रदेश समितिको कार्यालय भवन निर्माण गर्नका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ बजेट विनियोजन गर्नुका साथै पत्रकारहरूको पेशागत सुरक्षाका लागि ७ लाखको दुर्घटना तथा १ लाखको स्वास्थ्य बिमा तथा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति दिने व्यवस्था गरेको बताए ।
पत्रकारहरूले मधेश प्रदेश सरकारले गरेको सकारात्मक कार्यको प्रचार गरिदिनका लागि आग्रह गर्दै नकारात्मक समाचार मात्र दिँदा मधेश प्रदेशलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्न थालेकाले यसतर्फ सचेत रहनका लागिसमेत उनले आग्रह गरे ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष बन्जाराले सबैको साथ र सहयोगमा अध्यक्षको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै सबैको साथ र सहयोगमा महासंघ सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पदभार ग्रहण लगतै बसेको समितिको बैठकले पत्रकार महासंघ मधेश प्रदेशका लागि जग्गा प्राप्ति र भवन निर्माण गर्नका लागि समिति गठन गरेको छ ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको अध्यक्षमा श्याम बन्जारा, उपाध्यक्षमा अम्बिका कुमारी दाहाल, उपाध्यक्ष (महिला) मा ज्योति झा, महासचिवमा शैलेन्द्र महतो क्रान्ति, सचिवमा दिपक प्रसाद गौतम, सचिव (समावेशी) मा हदिश खुद्दार र कोषाध्यक्षमा अनिल गौरत निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्य (खुल्ला) मा अजय कुमार साह, नविन मिश्र प्रियदर्शी, शैलेन्द्र झा, संजिव कुमार मिश्र र त्रिलोकिनाथ यादव, सदस्य (महिला) मा प्रतिभा झा, सुनिता कुमारी महतो र सविता अर्याल, सदस्य (दलित)मा विनोद परियार, सदस्य (आदिवासी जनजाति)मा जियालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ, सदस्य (मधेशी) मा नविन सिंह र बृजमोहन कुशवाहा तथा सदस्य (अल्पसंख्यक)मा साजीर मंसुर निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


