मधेश भवन पुग्दा कार्यकक्षको नेमप्लेटमुनि ‘मन्त्री बाहिर’

जनकपुरधाम, १५ पुष । तपाईं मधेश भवन जाँदा मुख्यमन्त्री र मन्त्रीहरुलाई उनीहरुको कार्यकक्षमा भेट्नु भएको छ ? भेट्नुभएको छ भने तपाईं भाग्यमानी नै हो । किनभने अहिले मुख्यमन्त्री र मन्त्रीहरुलाई कार्यकक्षमा भेट्न मुस्किल छ । मधेश भवन पुगेका अधिकांश व्यक्तिले उनीहरुको नेमप्लेटमुनि लेखिएको ‘मन्त्री बाहिर’ शब्द पढेर फर्कनुपर्छ ।
मुख्यमन्त्री र मन्त्रीहरु कतै कुनै महत्त्वपूर्ण काममा पो निस्किएका हुन् कि ? कतिपयलाई यस्तै लाग्न सक्छ । तर, कार्यसम्पादन हेर्ने हो भने त्यो पक्कै देखिँदैन । मन्त्रीहरु व्यस्त छन् त केवल ‘उद्घाटन’ र ‘रिबन काट्न’ मा ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह र उनका क्याबिनेटका मन्त्रीहरु महत्त्वपूर्ण समय ‘उद्घाटन’ कार्यक्रमहरुमा बिताइरहेकाले प्रदेश सरकारको कामको प्रगति देखिंदैन । उनीहरुले निरन्तर गरिरहेको एउटै काम हो, ‘उद्घाटन’ । अस्पतालको बेडदेखि रेष्टुरेन्ट उद्घाटन मुख्यमन्त्री र मन्त्रीहरुको दैनिकी बनेको छ ।
सरकारको नीति निर्माणमा जुट्नुपर्ने मुख्यमन्त्री र मन्त्रीहरुको दैनिकी अहिले उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने गरेका छन् ।
गत जेठ २५ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम जनमत पार्टीबाट सतिश कुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको वर्तमान सरकारले ६ महिना पूरा गरिसकेको छ । तर, यस ६ महिनामा मधेश सरकारले नागरिकका न्यूनतम आवश्यकताहरु पनि पूरा गर्न नसकेको भन्दै चौतर्फि आलोचना भइरहेका छन् ।
युवा अभियन्ता सरोज मिश्रले भने, ‘मुख्यमन्त्री सिंह र यहाँका अधिकांश मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिँदैनन् । उनीहरु बिहानदेखि बेलुकासम्म विभिन्न महोत्सवको उद्घाटन तथा सभासमारोहहरुमा बढी समय बिताउँछन् । यसले सरकारको कामप्रतिको गतिशिलता र जनताप्रतिको उत्तरदायीत्व कति छ भने कुराको बोध गराउँछ ।’
मधेश प्रदेश सरकारका मन्त्रीहरु उद्घाटन लगायतका स–साना कार्यक्रमहरुमा प्रमुख अतिथि बनेर जाँदा मन्त्रालयको काम भने निरन्तर प्रभावित हुनुका साथै सरकारलाई समेत करोडौं व्ययभार पर्दै आएको छ । मधेश सरकारका एक जना मन्त्री दैनिक तीनदेखि पाँच वटा कार्यक्रममा सहभागी हुँदै आएका देखिन्छन् ।
विगत लामो समयदेखि प्रदेशको जनसरोकारको विषय उठान नभएको भन्दै हिजोमात्र जसपा नेपाल मधेश प्रदेश संसदीय दलले प्रदेशसभा बैठक बोलाउन माग गरेको थियो । जसपा नेपालका प्रदेशसभा सदस्य एवम् मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले तत्काल प्रदेशसभा बैठक बोलाएर विकास निर्माण लगायतका कामहरुलाई प्राथमिकतामा राख्न माग गरे ।
उनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश विकासे योजनाहरु हालसम्म सञ्चालनमा नआउँदा प्रदेशवासीका साथै जनप्रतिनिधिहरु मारमा परेकाले विनियोजन बजेट सञ्चालनमा ल्याउन जसपा संसदीय दलको बैठकमार्फत माग गरिएको बताए ।
बजेट सञ्चालनमा ढिलाई भएको भन्दै अहिले प्रदेशमा आलोचना सुरु भएको छ । दक्ष कर्मचारीको अभावका कारण पनि कानुन निर्माणमा समस्या भइरहेको मन्त्रीहरु बताउँछन् । उनीहरुले कानुन नबनेको दोष कर्मचारीलाई दिँदै आफूहरु भने विभिन्न कार्यक्रम उद्घाटनमै रमाउने गरेका छन् ।
मधेश प्रदेश सरकारले संसदलाई समेत ‘बन्धक’ बनाएको भन्दै आलोचना भइरहेको छ । प्रदेश समृद्धिको सपना बाँडेर हिँडेका मन्त्रीहरु नै अवरुद्ध संसद खुलाउनुको साटो सानातिना कार्यक्रम र उद्घाटनमै आफ्नो अमूल्य समय खर्चिनमा व्यस्त छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


