मधेश प्रदेश सरकारद्वारा दूधमति नदीको सीमांकनको काम सुरु

जनकपुरधाम, १४ पुष । धनुषा र महोत्तरी जोड्ने दूधमति नदीको संरक्षण गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले आइतबारदेखि सीमांकनको काम सुरु गरेको छ ।
दुधमति नदीको उद्गमस्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ मा रहेको अर्जनमा टोलबाट सीमांकनको काम सुरु गरिएको हो ।
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा लगायतका जनप्रतिनिधिहरुले संयुक्त रूपमा सीमांकनको शुभारम्भ गरेका हुन् ।
धनुषा–महोत्तरी क्षेत्रमा कूल २९ किलोमिटरको दूरीमा रहेको दुधमति नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार नापजाँच गरेर क्षेत्रफल निकाल्ने र पिलर गाड्नेसहित जग्गा छुट्याउने गरी पैनी खन्ने काम सुरु गरिएको छ ।
दूधमति नदी संरक्षण तथा सम्बद्र्धन उच्चस्तरीय उपसमितिद्वारा सञ्चालित दूधमति नदी उकास तथा विकास परियोजना अन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमणमुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खन्न गरी नदीको सौन्दर्यीकरण गरिने बताइएको छ ।
कांग्रेस सह–महामन्त्री यादवले दूधमति नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गणतव्यको रुपमा स्थापित हुने बताए ।
दूधमति नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षिरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए । उनले भने, ‘नदीको उकास विकास संगै यहाँस्थित दूधमति नदीको एक डेढ किलोमिटर क्षेत्रफललाई तालको रुपमा विकास गरे स्थानीय तह सरकारका लागि समेत आर्थिक उपार्जनको ठूलो माध्यम हुन सक्नेछ ।’
उच्चस्तरीय समितिका अध्यक्ष समेत रहेका मन्त्री शेषनारायण यादवले यो उर्जा, सिचाई तथा खानेपानी मन्त्रीको मात्रै योजना नभई प्रदेश सरकारको ठूलै ड्रीम प्रोजेक्टको रुपमा रहेको बताए । प्रदेश सरकारको अहिलसम्मकै ठूलो गौरवको आयोजना रहेको दुधमति नदीलाई करिडोरको रूपमा स्थापना गरिने भएकाले यसमा स्थानीय जनताको समेत आवश्यकता रहेकाले सहयोग गर्न उनले आग्रह गरे ।
उनले भने, ‘करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतिको बहाउ क्षेत्र बाहेक दुवैतर्फ ११/११ मिटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ/गाउँ नजिक दूधमति र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २/२ किलोमिटरको दूरीमा ड्यामको व्यवस्था गरिनेछ ।’
क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले परियोजना सुरु भएपछि नगरपालिकाबाट २५ लाख र लक्ष्मिनिया गाउँपालिकाका प्रतिनिधिले ११ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ५० लाख रुपैयाँ बजेट छुटयाएको । आगामी वर्षदेखि डिपिआर अनुसार बढीभन्दा बढी बजेट छुटयाउने प्रतिबद्धता मन्त्री यादवले जनाए ।
नापजाँचका लागि नापी शाखा धनुषाका अमिन रामकृपाल अधिकारीको नेतृत्वमा चार सदस्यीय टोली खटाइएको छ । धनुषा र महोतरी नापी शाखालाई नापजांका लागि ३ महिनाको समयावधि दिइएको छ ।
नापजाँच सकिएपछि उत्खन्नको काम अघि बढाइने छ । त्यसपछि अघिल्लो वर्षदेखि सौन्दर्यीकरणको काम अघि बढाइने मन्त्रालयका सचिव अन्सारीले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, लक्ष्मीनिया गाउँपालिकाका उपप्रमुख फूल कुमारी यादव, जलस्रोत तथा सिंचाई महाशाखा प्रमुख वरूण कर्ण, प्राविधिक टोलीको तर्फबाट धनुषा र महोत्तरीका नापी शाखा तथा भुमिसुधार शाखाका कर्मचारीहरू, दुधमती संरक्षण समितिका अध्यक्ष श्याम राउतलगायत विभिन्न पदाधिकारी तथा स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


