जनकपुरधाम, १४ पुष । जनमत पार्टीले आफ्ना पदाधिकारीहरूलाई सामाजिक सञ्जालमा हरेक दिन एउटा पोष्ट गर्न आग्रह गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा जनमत पार्टीले आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पार्टीको सकारात्मक प्रचार–प्रसारमा अनिवार्य जोड्न र त्यसलाई अनुगमन समेत गर्ने निर्णय गरेको हो ।

पार्टीले सम्पूर्ण पदाधिकारीहरूले पार्टी वा नेतृत्वको विषयमा सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर वा एक्स, टिकटक) मा हरेक दिन एउटा सकारात्मक पोष्ट गर्न भनेको छ । त्यस्तै, पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सो पोष्ट गरे–नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

मासिक रूपमा २० वा बढी पोष्ट आए राम्रो, १० देखि २० सम्म आए औसत, ३ देखि १० वटासम्म पोष्ट आए सामान्य र ३ भन्दा कम पोष्ट आए निष्क्रिय मानिने जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलले बताए ।

उनले राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिश गर्न सकिने जानकारी दिए ।

पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरूद्धमा अभिव्यक्ति दिने, बोल्ने÷लेख्ने वा पार्टीको छविमा आँच आउने अथवा पार्टीलाई अहित हुने गतिविधि नगर्न निर्देशनसमेत दिइएको छ । सो गरेमा पार्टीको विधान अनुसार कारबाही गरिने उल्लेख छ । पार्टीका कमीकमजोरीहरू वा पार्टीका पदाधिकारी, सभासद् वा मन्त्रीहरूविरुद्ध कुनै कुरा भएमा पार्टीका गुनासो सुन्ने सम्बन्धित पदाधिकारी समक्ष, वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्न भनिएको छ ।

पार्टीमाथि कुनैपनि तरीकाले आक्रमण भएमा सदस्यहरुलाई प्रतिरक्षा गर्न आग्रह गर्दै पार्टीको कुनै पदाधिकारी वा मन्त्रीप्रति गुनासो भए वा उनीहरूले काम नगरिदिँदा आक्रोशित भएर पूरै पार्टीलाई नै बदनाम हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न सचेत गराइएको छ ।