जनकपुरधाम, १४ पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रिय नेताहरुले संघीयताको मर्म नबुझेको आरोप लगाएका छन् ।

नेपाल प्रेस यूनियनले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता कोइरालाले ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूको आचरणका कारण जनतामा निराशा छाएको बताएका हुन् ।

‘सरकार असफल भइदियो भने देश अराजकतातर्फ जान्छ । देश आजकतातर्फ नजाओस् भनेर राजनीतिक दल मात्र नभई सम्पूर्ण नागरिक समाज पनि त्यसमा गम्भीर हुनुपर्छ, ’उनले भने, ‘केन्द्रले प्रदेशहरुमाथि हस्तक्षेप गरेर अप्ठ्यारो परिस्थितीमा पारेको छ । केन्द्रले निजामति कर्मचारी, शिक्षालगायत प्रहरी प्रशासन सम्बन्धी ऐन पनि अहिलेसम्म बनाएको छैन् । त्यसैकारणले प्रदेशहरु अहिले अप्ठ्यारो अवस्थामा छ ।’

कोइरालाले भने, ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान ठूला दलका नेतृत्वमा बसेकाहरूले स–सम्मान नेतृत्व छाड्नुपर्छ । हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनुपर्छ ।’

वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने र काँग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने उनले बताए ।

२०८४ को निर्वाचनमा काँग्रेस एक्लैले चुनाव लडेर जित्न सक्ने अवस्था भएपनि अहिलेको अवस्थामा गठबन्धन आवश्यक भएको र संविधान संशोधन गर्दा नेकपा माओवादी केन्द्र, रास्वपा तथा मधेसवादी दलहरूसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उनले काँग्रेस संविधान संशोधनको पक्षमा रहेको स्पष्ट गरे ।

नेता कोइरालाले गुट र उपगुटमा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्ताहरूलाई आग्रह पनि गरेका थिए ।