राजदूत फेन दम्पतीले जानकी मन्दिरमा मनाए वैवाहिक वर्षगाँठ

जनकपुरधाम, १३ पुष । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा आफ्नो २२औं वैवाहिक वर्षगाँठ मनाएका छन् ।
जानकी मन्दिर परिसरमा मनाइएको राजदूत दम्पतीको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचनसमेत गरिएको थियो । उनीहरुले मिथिलाको परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।
राजदूत फेन दम्पतीले मिथिलाको पोसाक लगाएका थिए । वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतको सहभागिता थियो ।
जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिए भने श्रीमतीलाई औंठीसमेत लगाइदिएका थिए ।
राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताए ।संघीय सरकारले जनकपुरलाई वैवाहिक स्थल(म्यारिज डेस्टिनेसन) बनाउने नीति लिएको छ । बेलायतका राजदूत फेनले नेपाल सरकारको त्यही नीतिलाई अवलम्बन गरेर आफूहरुले जनकपुरको जानकी मन्दिरमा वैवाहिक वर्षगाँठ मनाएको प्रतिक्रिया दिए ।
राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लिएको बताए ।
तस्बिरहरु : पत्रकार घनश्याम मिश्र
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


