गरुडा नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूले गरे तोडफोड, मेयर चढ्ने गाडीसहित एक दर्जन बढी गाडीमा क्षति

रौतहट, १२ पुष । शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूले तोडफोड गरेका छन् ।
नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले नगरपालिका भवनमा तोडफोड गरेका हुन् । विद्यार्थीहरूले तोडफोड गर्दा नगरपालिका अगाडी राखिएको मेयर चढ्ने गाडीसँगै एक दर्जन बढी गाडीमा क्षति पुगेको छ ।
नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशंकर झालाई मावि झाँझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै बिहीबार नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा नगर प्रहरीले दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू उग्र भएर ढुंगामुढा गरेका थिए ।
कार्यालय अगाडि पार्किङ्ग गरेर राखिएको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा तोडफोड गर्दा क्षति पुगेको छ । सरकारी गाडीको सबै सिसा फुटेको छ भने गाडीको अन्य भागमा समेत क्षति पुगेको छ ।
त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरूको एक दर्जन बढी मोटरसाइकलमा विद्यार्थीहरूले तोडफोड गरी व्यापक क्षति पुर्याएका छन् ।
ढुङ्गा प्रहारबाट नगर प्रहरी हवल्दार रामनारायण साह घाइते भएको र हाल उनको वीरगन्जमा उपचार भइरहेको जनाइएको छ । ढुंगामुढाबाट कार्यालय र सवारी साधन गरी १० लाख भन्दा बढीको क्षति भएको गरुडाका मेयर कन्थमणि प्रसाद जयसवालले बताए ।
नमुना मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल र सरुवा भएका शिक्षक शिवशंकर झाले विद्यार्थीलाई उचालेर यत्रो ठुलो क्षति गराएको मेयर जयसवालले आरोप लगाएका छन् । तर प्रधानाध्यापक पटेल र शिक्षक झाले आरोप निराधार भएको भन्दै खण्डन गरेका छन् ।
शिक्षक सरुवाकै विषयलाई लिएर यसअघि रौतहटको देवाही गोनाही, कटहरिया नगरपालिकामा पनि विद्यार्थीहरूले तोडफोड गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


