जनकपुरधाम, १२ पुष । मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूकोे सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशका पत्रकारहरूको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति ७ लाख रूपैयाँको दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न लागेको छ ।

श्रमजीवी पत्रकारहरूको सहजताका लागि स्वास्थ्य बीमा गर्न लागिएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।पत्रकार महासंघ तथा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनको विशेष अनुरोधमा आम सञ्चार प्राधिकरणमार्फत पत्रकार स्वास्थ्य बीमा गर्न लागिएको उनले बताए । यो बीमालाई आगामी वर्षमा निरन्तरता दिँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए ।

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य बीमा र ७ लाखसम्मको दुर्घटना बीमा गरिने जानकारी दिए ।

उनले यसअघि २०७९ सालमा १५० जना र २०८० सालमा ११५ जना महिला पत्रकारको स्वास्थ्य बीमा गरिएको र २०८१ सालमा बीमा कार्यक्रमका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयले ३० लाख रूपैयाँ बजेट उपलब्ध गराएकोसमेत जानकारी दिए ।

यादवले प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि नै सञ्चार क्षेत्रमा नयाँ कामहरू गर्ने प्रयास निरन्तर जारी राखेका छन् ।