स्पर्श नेपालद्वारा सरोकारवाला निकायसँग पैरवी सम्बन्धी अन्तरक्रिया

जनकपुरधाम, ११ पुष । एचआइभीको क्षेत्रमा कार्यरत संस्था स्पर्श नेपालले सरोकारवाला निकायहरुसँग पैरवी सम्बन्धी अन्तरक्रिया गरेको छ ।
बिहीबार एचआईभीको क्षेत्रमा स्पर्श नेपाल, सुनौलो विहानी समाज, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको एआरटी सेन्टरमा उपचार गराइरहेका तथा एनए+पिएन संस्थाले कार्य गरिरहेकोमा उनीहरुको सेवाबाट सेवाग्राही गुणस्तरिय सेवा पाइरहेका छन् कि छैनन् भन्ने कुराको अनुगमनका लागि युएनएड्सको सहयोगमा सिएलएम (सामुदायिक नेतृत्वको अनुगमन) परियोजना सञ्चालन हुँदै आएको छ ।
स्पर्श नेपाल धनुषाका फोकल पर्सन कुलदिप साहले यौन व्यवसायमा लागेका, लागूऔषध प्रयोगकर्ता, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा एचआईभी संक्रमितहरुलाई सेवा दिँदै आएका संस्थाहरुमा अनुगमन गरिएको बताए ।
अनुगमनका लागि सेवाग्राहीकै समुदायबाट एक÷एक जना गरि चारजना पिअर लिडर पठाएर सेवाग्राही प्रतिक्रिया फारम भराएर सेवाको अनुगमन गरिएको थियो ।
फोकल पर्सन साहका अनुसार यस परियोजना अन्तर्गत ३ सय ९१ जनासँग सर्वेक्षण गरिएको हो । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ८७, सुईद्वारा लागूऔषध लिने ८६ जना, महिला यौनकर्मी १२४ जना र एचआईभी संक्रमित ९४ जनासँग सर्वेक्षण गरिएको साहले बताए ।
यो अनुगमनको क्रममा सुईद्वारा लागूऔषध प्रयोगकर्ता समुहबाट यौन रोगको उपचार सहज रुपमा हुनुपर्ने सँगै हेपाटाइटिसको उपचार उपलब्ध हुनुपर्ने, ‘ओएसटी’ सेवा सुरु हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।
त्यस्तै, एचआईभी संक्रमित समुदायबाट भाइरल लोडको रिपोर्ट समयमा आउनुपर्ने, पौष्टिकआहारको उपलब्धता, रोजगारको प्रबन्ध, यातायात खर्चको उपलब्धतासँगै कावा समूहका बालबालिकाहरुका लागि थप सहयोग हुनुपर्ने, ‘सिडी–४’ सेवा सुरु हुनुपर्ने सरोकारवालाहरुसँग माग गरेका छन् ।
यस्तै, महिला यौनव्यवसायीको तर्फबाट यौन पेशालाई कानूनी मान्यता दिनुपर्ने, आवश्यक परेको बेला कानूनी सहायता र आयमुलक तालिमको व्यवस्था मिलाईदिनुपर्ने सुझाव दिएका हुन् । त्यस्तै, यौनिक तथा अल्पसंख्यक समुदायबाट सचेतनामूलक कार्यक्रम सँगै हार्मोनल सपोर्ट सेवा जनकपुरधाममै उपलब्ध हुनुनपर्ने, पौष्टिक आहार उपलब्ध हुनुपर्ने लगायतका सुझाएका छन् ।
स्पर्श नेपालको तथ्यांक अनुसार धनुषामा यस जिल्लाका र जिल्ला बाहिरका गरि कुल ८२२ जना एचआईभी संक्रमित उपचार गराइरहेका छन् ।
बिहीबार स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक श्रवण कुमार नायकको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
यस्तै, प्रमुख अतिथिको रुपमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेशका सचिव सञ्जय कुमार ठाकुरले यस्ता कार्यक्रमहरु अझ पारदर्शी र प्रभावकारी हुनुपर्ने बताए । उनले यो कार्यक्रम एकदम महत्वपूर्ण रहेको भन्दै यस कार्यक्रमले गर्दा समुदायमा सेवासम्बन्धी रहेको ‘ग्याप’हरु बाहिर आएको भन्दै प्रशंसा गरे ।
उनले प्रदेश सरकारद्वारा हुने आयमुलक तालिम तथा कार्यक्रमहरुमा यस समुदायका व्यक्तिहरुलाई समेत सहभागीता जनाउने वातावरण बनाउने तर्फ प्रदेश सरकार लागेको बताए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका शाखा प्रमुख संतोष यादवले आफूहरुसँग किटको उपलब्धता समयमा नभएकाले भाइरल लोडको रिपोर्ट समयमै उपलब्ध गराउन असक्षम रहेको बताए ।
कार्यक्रमको समापन गर्दै स्वास्थ्य निर्देशनालयका निर्देशक नायकले प्रदेश सरकारद्वारा कावा समूहका बालबालिकाहरुको लागि आफुहरु प्रतिमहिना एक हजार भत्ता दिँदै आएको बताए । उनले सचेतनामूलक कार्यक्रम योजनामै राखिएको बताए । सीमानाकामा गएर एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने बताए । उनले स्पर्श नेपालले आयोजना गरेको यस्ता कार्यक्रम अझै प्रभावकारी र निरन्तर रुपमा गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


