जनकपुरधाम, ११ पुष । धनुषामा श्रीमानले श्रीमतिको हत्या गरेका छन् । धनुषाको मिथिला नगरपालिका–३ हरिपुरका दशैया मुखिया बिनले मदिराको नशामा आफ्नी ४८ वर्षीया श्रीमति रेशमी देवी बिनको हत्या गरेका हुन् ।

उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।

प्रहरी निरीक्षक साहका अनुसार घरायसी विवादमा श्रीमान दशैयाले श्रीमतिको हत्या गरेको स्वीकारेका छन् । पती दशैयाकै बयान अनुसार रेशमीको शव फेला परेको हो ।

मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार मध्यान्ह १२ बजेसम्म श्रीमान–श्रीमतिबीच झगडा भइरहेको थियो । दशैया मदिराले लठ्ठिएका थिए । साँझ दशैयाले बुहारीसँग खाना मागे । त्यसपछि उनले सासु खै ? भनेर सोधिन् । बुहारीको प्रश्नमा दशैयाले शंकास्पद जवाफ दिएका थिए । त्यसपछि परिवारका सदस्यले प्रहरीलाई बोलाएका थिए ।

प्रहरीले सोधपुछ गरेपछि हत्या गरेर शव शौचालयको पछाडि गाडेको दशैयाले बताएका थिए । राति नै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी निरीक्षक साहको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरी मुचुल्का उठाएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाएको थियो ।

दशैयालाई प्रहरीले पक्राउ गरेको छ ।