जनकपुरधाम, ११ पुष । सिद्धार्थ बैंक लिमिटेड जनकपुर मिल्स एरियाका शाखा प्रमुखलाई प्रहरीले छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा लगेको छ । शाखा प्रमुख अरण बलम्पाकीमाथि ग्राहक ठगी गरेको आरोप लागेपछि दुबै पक्षसँग छलफलका लागि उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले बलम्पाकीलाई कार्यालयबाट प्रहरीको रोहवरमा छलफलका लागि जिप्रका लगिएको पुष्टि गरे । उनले शाखा प्रमुख बलम्पाकी ग्राहक ठगीमा संलग्न रहेको आरोप लागेपछि दुबै पक्षलाई छलफलका लागि यहाँ बोलाइएको जानकारी दिए ।

जनकपुरधामका एक ग्यास व्यवसायी दिनेश रायले सिद्धार्थ बैंक लिमिटेडबाट व्यक्तिगत र व्यवसायीक गरि दुईटा ऋण लिएका थिए । व्यवसायीक ऋणको सबै ब्याजहरु भुक्तान भइसकेको र व्यक्तिगततर्फ विगत करिव ७ महिनाको ब्याज तिर्न बाँकी रहेको अवस्थामा बैंकले आवश्यक प्रक्रिया नै नपुर्याएर ऋणीलाई कुनै जानकारी नै नदिई वडाको सिफारिश बिना ८६ लाखको ऋणका लागि करिव २ करोड मूल्य बराबरको घरको निलामी प्रक्रिया अगाडि बढाउँदै घरजग्गा पास गर्न मालपोत कार्यालयमा फाइल पठाएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।

उनले यस शाखाका प्रमुखको केही गलत तत्वहरुसँग संलग्नता रहेको र सोही आधारमा ग्राहक ठगी गरिरहेको घटना यसअघि पनि बाहिरिएको आरोपसमेत लगाए ।